पुरानो भुक्तानी बाँकी राख्दा विकासका नयाँ काम अघि बढाउन समस्या भयो : युवराज खतिवडा

मंसिर २५, २०८१ |सुदिल पोखरेल
पुरानो भुक्तानी बाँकी राख्दा विकासका नयाँ काम अघि बढाउन समस्या भयो : युवराज खतिवडा

काठमाडौं । प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार युवराज खतिवडाले काम सम्पन्न गरिएका आयोजनाको समयमै भुक्तानी नगर्दा सरकारलाई नयाँ विकास निर्माणको काम अघि बढाउन समस्या हुने देखिएको बताउनु भएको छ ।

समयमै भुक्तान नहुने डरले निर्माण व्यवसायीले नयाँ काम नथालेका बेलामा प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार खतिवडाले कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा बोल्दै अहिले सरकारले अघिल्लो वर्षको विकास निर्माणको रकम भुक्तान गरेर नै रकम सक्किने स्थिती आएकाले थप भुक्तानीमा समस्या उत्पन्न हुने स्थिती आएको बताउनु भएको हो ।

खतिवडाले भन्नुभयो ‘पहिलोवर्ष निर्माण सम्पन्न गरेको रकम हामीले यो वर्ष भुक्तान गर्दैछौ, त्यहि भुक्तानी गर्दा नै यो वर्षको रकम सकिन लागेको छ , अब यो वर्षको विकास निर्माणको भुक्तानी कसरी गर्ने हो भन्ने समस्या परेको छ । ’ साथै उहाँले बजेटमा ठूलो मात्रामा थपिएका नयाँ आयोजनाले पनि समस्या निम्त्याउने बताउनु भएको छ ।

संभाव्यता अध्ययन नभएका र रातारात थपेका आयोजनामा सरकारको आपत्ति रहेको भन्दै उहाँले त्यस्ता आयोजना हटाउन पर्ने धारणा राख्नुभयो । त्यसो गर्न नसकिए आगामी दिनमा बजेट निर्माणमै समस्या हुने उहाँको भनाई छ ।

अर्थतन्त्रमा धेरै राम्रो नभएपनि मात्रात्मक सुधार भएको तर जनअपेक्षा अनुसार फड्को मार्न नसकेको उहाँले बताउनुभयो । ब्यापार घरजग्गा र सेयरबजारमा सामान्य सुधार आएपनि उद्योगहरुको उत्पादनमा बृद्धि हुन नसकेको उहाँको तर्क छ । ‘आधा गिलास पानी जस्तैको सुधार हो यसलाई भएन र भयो दुवै भन्न मिल्छ, ’ उहाँले भन्नुभयो ।

यसअघि पर्यटन क्षेत्र सुधार भएको भएपनि अहिले त्रिभुवन विमानस्थलमा मर्मतको काम अघि बढाउँदा केहि प्रभावित भएको उहाँको भनाई छ । साथै यसअघि राष्ट्र बैंकको कर्जामा अत्यन्त खुकुलो नीति, सिमा क्षेत्रमा खुकुलो भएका कारण आर्थिक गतिविधी बढ्दा ठूलो मात्रामा ऋण गएको र अहिले थप ऋण लिनै नसक्ने अवस्थामा व्यवसायी पुगेको पनि खतिवडाले बताउनुभयो ।

उहाँले हालका मन्त्रीहरुको काम प्रति भने असन्तुष्टि पोख्नुभयो । मन्त्रीहरुले काम गर्न नसकेका कारण विकासको खर्च नभएको र राजस्व समेत अपेक्षित मात्रामा उठ्न नसकेको उहाँको भनाइ छ ।

साथै उहाँले युवा पलायनलाई रोक्न नसके नेपालमा वृद्धहरुको जनसंख्या बढ्ने जोखिम रहेको बताउनु भयो । यसको समाधानका लागि अब शिक्षामा सुधार सँगै युवालाई रोजगारीमा लगाउन सूचना तथा प्रविधी क्षेत्रलाई अघि बढाउनुपर्ने उहाँको धारणा छ ।

साथै सरकारलाई पुरक बजेट ल्याउन आफुले सल्लाह दिइरहेको खतिवडाले जानकारी दिनुभयो । ‘पुरक बजेट मार्फत संशोधन गरेर बजेट कार्यान्वयन सहित पास गरेका हौं । चालु खर्च नमिल्ने गरि, राजस्व लक्ष्य नभेट्ने छ, यसलाई संशोधन गर्न पुरक बजेट ल्याउन जरूरी छ,’ उहाँले भन्नुभयो ।  


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।