सरकारले कुलमान घिसिङसँग माग्यो १५ प्रश्नका जवाफ (प्रश्नको विवरणसहित)

आश्विन २३, २०८१ |सुदिल पोखरेल
सरकारले कुलमान घिसिङसँग माग्यो १५ प्रश्नका जवाफ (प्रश्नको विवरणसहित)

काठमाडौं । सरकार र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीचको सम्बन्ध चिसिएका बेला ऊर्जा मन्त्रालयले घिसिङसँग १५ बुँदामा प्रश्न सोधेर जवाफ मागेको छ । घिसिङलाई थाहै नदिई डाकिएको प्राधिकरणको बैठक भने रद्द गरिएको छ ।

ऊर्जा मन्त्रालयले घिसिङ कार्यकारी निर्देशक नियुक्त भएपछि लागेका ठेक्काको विवरण र प्राधिकरण सञ्चालक समितिले ४ वर्षमा कार्यकारी निर्देशकलाई प्रत्यायोजित अधिकारको निर्णयको विवरण मागेको हो । 

साथै, सञ्चालक समिलते विगत ४ वर्षमा गरेका निर्णयहरु पनि माग गरेको छ । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीमा रहेको लगानी र ती कम्पनीमा रहेका सञ्चालकको पनि विवरण माग गरेको छ । 

यसैगरी, सञ्चालनमा आइसकेका आयोजनाको विद्युत एउटा प्रसारणलाइनले नधानेर बढी भएमा अर्काेबाट के-कसरी लिने गरेको छ भन्ने लगायतका १५ बुँदामा जवाफ माग गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी निर्देशक घिसिङबीचको सम्बन्ध राम्रो नभएका कारण नयाँ सरकार बनेसँगै प्राधिकरण र सरकारबीच खटपट बढेको छ । 

सन् २०३५ सम्मको ऊर्जा विकासको मार्गचित्र बनाउन प्रधानमन्त्री कार्यालयमा सोमबार आयोजित बैठकमा ऊर्जा उत्पादक र प्रसारण लाइनको जिम्मा पाएको प्राधिकरणको नेतृत्वलाई नै बोलाइएको थिएन । र, सरकारले यसअघि गत साउनमा नेपाल विद्युत् प्राधिकरणको सञ्चालकबाट कपिल आचार्य र भक्तबहादुर पुनलाई हटाउने प्रयास गरे पनि सर्वाेच्च अदालले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेसँगै रोकिएको छ ।

ऊर्जा मन्त्रालयले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग निम्न १५  प्रश्नका जवाफ मागेको छ:

१. नेपाल विद्युत प्राधिकरणको कर्मचारी सेवा, शर्तसम्बन्धी विनियमावली (संशोधनसहितको) एवम् आर्थिक प्रशासन विनियमावली (संशोधन समेत) र सोसँग सम्बन्धित विगत ४ वर्ष अवधिमा सञ्चालक समितिले गरेका विभिन्न मितिका निर्णयहरु ।

२. नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले विगत ४ वर्षको अवधिमा कार्यकारी निर्देशकलाई प्रत्यायोजन गरेको अधिकारको विवरण (निर्णय मिति खुल्ने गरी ) ।

३. नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुकहरुका व्यावसायिक संस्थाहरुसँग गरेको विभिन्न मितिका सम्झौता एवम् समझदारी पत्रहरुको विवरण |

४. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुमा रहेको प्राधिकरणको शेयर संरचना एवम् ती कम्पनीहरुको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरुको विवरण । साथै, ती कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरणको तर्फबाट हाल काजमा खटिएका कर्मचारीहरुको विवरण ।

५. नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरुको विगत ४ वर्षको वित्तीय विवरण ।

६. नेपाल विद्युत प्राधिकरणले विद्युत खरिद सम्झौता गरी सञ्चालनमा रहेका आयोजनाहरुबाट 'पावर इभ्याकुएसन' पूर्ण रुपमा हुन नसकेको अवस्था भए वैकल्पिक मार्ग प्रयोग गरिएको आयोजनाहरुको विवरण ।

७. हिमाल पावर लिमिटेडद्वारा प्रवर्द्धित ६० मेगावाटको खिम्ति १ जलविद्युत आयोजनासँग स्वामित्व हस्तान्तरणबारे नेपाल विद्युत प्राधिकरणले गरेको वार्तासँग सम्बन्धित विवरण / प्रतिवेदनहरु ।

८. विगत चार आर्थिक वर्षदेखि त्यस प्राधिकरणका विभाग, निर्देशनालय र कार्यकारी निर्देशकबाट स्वीकृत भएका बोलपत्र सम्बन्धी विवरण (जस्तै, ठेक्काको नाम स्वीकृत भएको रकम भुक्तानीको विवरण, ती ठेक्कासँग सम्बन्धित दायित्वहरुको विवरण आदि) । साथै, यदि विवाद पर्न गएको भए विवादका कारण र कार्य सम्पन्न हुन नसकेका ठेक्का सम्झौताको वर्तमान अवस्था ।

९. विगत चार वर्षमा भएका सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमण सम्बन्धी विवरण ती भ्रमणसँग सम्बन्धित खर्चको विवरण एवम् ती खर्च भुक्तानीको स्रोतसम्बन्धी विवरण ।

१०. डेडिकेटेड फिडर / ट्रंक लाइन सम्बन्धी नेपाल विद्युत प्राधिकरणले उठाउन बाँकी रहेको महसुल सम्बन्धमा सञ्चालक समितिमा पेश भएका विभिन्न प्रतिवेदन एवम् सो महसुलका सम्बन्धमा सञ्चालक समितिबाट विभिन्न मितिमा भएका निर्णयहरु । 

११. नेपाल विद्युत प्राधिकरणले विभिन्न बोलपत्र मार्फत् खरिद गरी जडान हुन बाँकी स्टोरमा मौज्दात रहेका ट्रान्सफरमरको अद्यावधिक विवरण (खरिदको लागि प्राप्त माग संकलन र खरिद योजना, खरिद नं., खरिद मूल्य एवम् हालको अवस्था सहित) ।

१२. हाल बोलपत्र आव्हानको लागि तयारी भइरहेको स्मार्ट मिटर लगायतका वस्तु /सामाग्रीहरुको विवरण एवम् प्रतिस्थापन कार्ययोजना (परिमाण एवम् अनुमानित लागत रकम सहित) ।

१३. नेपाल विद्युत प्राधिकरणले आफैले विभिन्न स्थानहरुमा सिमेन्टेड पोल प्लान्टहरु स्थापना गरी उत्पादन गरेका पोलहरुको लागत मूल्य, बोलपत्रहरुबाट खरिद भएमा विभिन्न पोलहरुको खरिद मूल्य एवम् सो सम्बन्धी परिमाणहरुको गत ४ आर्थिक वर्षको अद्यावधिक विवरण ।

१४. महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा औंल्याइएका बेरुजुमध्ये हालसम्म फछ्र्यौट हुन बाँकी रहेका बेरुजुको अद्यावधिक विवरण ।

१५. नेपाल विद्युत प्राधिकरणको केन्द्रीय स्टोर प्रमुखको रुपमा गत ५ वर्षदेखि को-को कार्यरत रहेका छन् ? उनीहरुको पद र योग्यता खुलेको विवरण ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement