रेमिट्यान्सले फेरिएको लक्ष्मण पासवानको परिवार

आश्विन २३, २०८१ |राजेश्वर पाण्डे
रेमिट्यान्सले फेरिएको लक्ष्मण पासवानको परिवार

रौतहट । वैदेशिक रोजगारीबाट पठाएको रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलायमान त बनाएको छ नै धेरै परिवारमा आर्थिक रूपान्तरण पनि देखिएको छ । तिनैमध्येको एक हो रौतहट गरुडाको लक्ष्मण पासवानको परिवार । 

रौतहट गरुडाका लक्ष्मण पासवानले वैदेशिक रोजगारीका क्रममा कतारमा १२ वर्ष बिताउनुभयो । कतारको एक होटेलमा उहाँले खाना प्याकिङ गर्ने काम गर्नुभयो । यसले उहाँलाई आय आर्जन मात्रै भएन सिप पनि सिकायो । विदेश जानुअघि उहाँको आर्थिक अवस्था निकै कमजोर थियो । 

फुसको झुप्रोमा बस्दै आएको पासवान परिवार गरिबी र दुःखमा थियो । तर विदेशमा उहाँले राम्रो आम्दानी गर्नुभयो । कतारमा खाना प्याकिङको काम गरेर पहिले उहाँले विदेश जाँदा लागेको साहुको ऋण चुक्ता गर्नुभयो । बहिनीको विवाहको सम्पूर्ण खर्च बेहोर्नुभयो । कतारमा कमाएको पैसाले पासवान परिवारले गाउँमा नयाँ घर बनाएको छ । अनि नयाँ घरले परिवारमा खुसी ल्याएको छ ।

बुबा बिरामी परेकाले लक्ष्मण कतारबाट नेपाल फर्किएको छ महिना भयो । यहाँ आएर लक्ष्मणले उता सिकेको सिपको सदुपयोग भने गर्न पाउनुभएको छैन । दैनिक ज्यालादारीको काम गरिरहुनु भएको छ । 

कुनै समय चरम गरिबीमा बाँचेको पासवान परिवार अहिले खुशीका साथ जीवन निर्वाह गर्दै छ । विदेश गएपछि लक्ष्मणमा श्रमप्रतिको सम्मान पनि बढेको छ ।


Image

राजेश्वर पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजन रौतहट संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement