काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुँदैछ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न १ बजेदेखि बस्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक तथा साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुनेछ ।
‘पार्टी रुपान्तरण र पुननिर्माणको सङ्कल्प : आजको आवश्यकता’ शीर्षकको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर बैठकमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
बैठकको प्रारम्भमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक परिस्थितिका बारेमा ‘ब्रिफिङ’ गर्ने र लगत्तै उहाँबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल हुनेछ । बैठकमा चार सय नौ पूर्ण केन्द्रीय सदस्य, दुई सय पाँच वैकल्पिक केन्द्रीय सदस्य, तीन आयोगबाट ७५ तथा सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशका पदाधिकारी गरी एक सय २५ जनाको समेत सहभागिता रहनेछ ।