लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी प्रदेशको बजेट बहुमतले पारित

दाङ । लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । लुम्बिनी प्रदेश सरकारको चौथो अधिवेशनको २३ औं बैठकले प्रदेश सरकारले असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।

प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक बहुमतले पारित भएको सभामुत तुलाराम घर्तीमगरले घोषणा गर्नु भयो । आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले प्रदेश सभा नियमावली २०७९ को नियम १४२ को उपनियम ६ बमोजिम प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्नु भएको थियो । बजेटमाथि सोमबार, मंगलबार र बुधवार तीन दिन लगातार सदनमा छलफल भएको थियो ।

प्रदेशका सबै मन्त्रालय, योजना आयोग, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा, लोकसेवा आयोग र मुख्यन्याधिवक्ताको कार्यालयको बजेट माथीको छलफल सकिएपछि सम्बन्धित मन्त्रालयका मन्त्रीहरुले समेत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि ३८ अर्ब ९७ करोड, ९५ लाख ३६ हजार रूपैयाँको बजेट ल्याएको थियो । विनियोजित बजेटमध्ये चालुतर्फ ११ अर्ब २५ करोड २७ लाख ८४ हजार अर्थात २८ प्रतिशत र पूँजीगततर्फ २४ अर्ब ५८ करोड, ५९ लाख रूपैयाँ अर्थात ६३ प्रतिशत रहेको छ । त्यस्तै, वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड १३ लाख अर्थात ८ दशमलव ०६ प्रतिशत हुने अनुमान सरकारको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement