सञ्चालनमा आयो ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन

देशभित्र ४०० केभी प्रसारण लाइनबाट पहिलोपटक विद्युत् प्रवाह
असार १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
सञ्चालनमा आयो ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइन

काठमाडौं । देशभित्रको विद्युत् प्रसारण प्रणाली सुदृढीकरण तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापार विस्तारका लागि निर्माणाधीन हेटौंडा-ढल्केबर-इनरुवा ४०० केभी प्रसारण लाइनको ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएको छ ।

धनुषाको ढल्केबरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ४ स्थित इनरुवा सबस्टेसम्मको १५४ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइनलाई मंगलबार बेलुका साढे ७ बजे चार्ज गरी सञ्चालनमा ल्याइएको हो । ढल्केबर र इनरुवा ४०० केभी सबस्टेसनमा जोडेर प्रसारण लाइन चार्ज गरिएको हो ।

ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण सुरु भएको छ । यसअघि ढल्केबर-मुजफ्फरपुर (भारत) अन्तरदेशीय प्रसारण लाइनबाट ४०० केभीमा विद्युत् आयात-निर्यात हुँदै आएको थियो । अब देशभित्र पनि ४०० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु गरिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ढल्केबर-इनरुवा खण्ड सञ्चालनमा आएसँगै मुख्य रुपमा कोशी प्रदेशका तराईका जिल्लाहरुमा विद्युत् आपूर्तिको भोल्टेज सुधार गर्न, समग्रमा देशको प्रसारण प्रणालीलाई गुणस्तर तथा विश्वसनीय बनाउन र नेपाल-भारतबीचको विद्युत् व्यापारको परिमाण बढाउन महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताउनुभयो । प्रसारण लाइनले करिब ४ हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्छ ।

प्रसारण पूर्वाधार तयार नभएकाले हाल सञ्चालमा रहेको ढल्केबर-मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हुने विद्युत् आयात-निर्यात परिमाण अब बढाउन सकिने कार्यकारी निर्देशक घिसिङले उल्लेख गर्नुभयो । अहिले दुई देशबीचको विद्युत् आयात/निर्यात परिमाण ८०० मेगावाट मात्र छ । उहाँले कोशी करिडोर हुँदै इनरुवा सबस्टेसनमा आएको विद्युत्‌लाई त्यस क्षेत्रमा खपत गरी अतिरिक्त भएमा ढल्केबर-इनरुवा प्रसारण लाइनमार्फत ढल्केबर ल्याएर भारतर्फ निर्यात गर्न पनि सकिने बताउनुभयो ।

मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ स्थित थानाभर्‍याङस्थित हेटौंडा सबस्टेसनबाट इनरुवा सबस्टेसम्म २८८ किलोमिटर प्रसारण लाइनलाई दुई खण्डमा विभाजन गरी निर्माण सुरु गरिएको थियो । प्रसारण लाइनलाई हेटौंडा-ढल्केबर १३४ किलोमिटर र ढल्केबर-इनरुवा १५४ किलोमिटरलाई दुई खण्डमा विभाजन गरिएको छ । हेटौंडा-ढल्केबर खण्ड निर्माणाधीन छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement