उत्पादन र रोजगारी सिर्जना सरकारको प्राथमिकता : अर्थमन्त्री पुन

असार ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
उत्पादन र रोजगारी सिर्जना सरकारको प्राथमिकता : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारले आन्तरिक वा बाह्य ऋण लिएर उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा मंगलबार राष्ट्र ऋण उठाउने विधेयकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पुनले यस्तो बताउनुभएको हो । सरकारले उठाउने आन्तरिक तथा बाह्य ऋणबाट घिउ खानेभन्दा पनि उत्पादन र रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गरिने उहाँको भनाइ छ । उहाँले सरकारले ऋण काढेर घिउ खानेभन्दा पनि ऋण काँढेर पुँजीगत अर्थात् विकास खर्च वृद्धि गर्ने खाजेको भन्न सान्दर्भिक ठानेको बताउनुभयो ।

अर्थमन्त्री पुनले सरकारले चालु आर्थिक वर्षको भन्दा २.५ प्रतिशत पुँजीगत खर्चमा वृद्धि गरेको बताउनुभयो । उहाँले पछिल्लो दशकमा मुलुकको ऋणको मात्रा बढ्दै गएको बताउनुभयो । एक दशकअघि २५ प्रतिशतभन्दा तल रहेको ऋण अहिले ४२ प्रतिशतको अनुपातमा पुगेको भन्दै आगामी वर्ष जीडीपीको तुलनामा २ प्रतिशत घटाएर ४० प्रतिशतमा ल्याउने लक्ष्य रहेको अर्थमन्त्रीको दाबी छ । ‘अर्को वर्ष जीडिपीको तुलनामा २ प्रतिशत घटाएर ४० प्रतिशतमा ल्याउँदै छौं,’ उहाँले भन्नुभयो, ‘आन्तरिक र बाह्य ऋणलाई बढी भन्दा बढी उत्पादनमूलक र रोजगारी उत्पादन गर्ने क्षेत्रमा लगानी गर्ने सरकारको प्राथमिकता छ ।’

उहाँले ३३० अर्बको आन्तरिक ऋण लिने लक्ष्य राखिएको बताउनुभयो । उहाँले गत वर्ष २२० अर्ब भन्दा ९० अर्बको फरक रहेको भन्दै विगतका ऋण अहिलेको सरकारले तिर्नुपर्ने दायित्व पनि वृद्धि भएको बताउनुभयो । उहाँले आगामी वर्ष सरकारले १०६ अर्बको नयाँ ऋण दायित्व वा सावा तथा ऋण भुक्तानी बढेको पनि जनाउनुभयो । सरकार ऋण उठाउने विषयमा सकेसम्म संयमित हुने र आन्तरिक ऋण तथा अन्य समग्र ऋणको दायित्व पनि कम गर्ने कोसिस गरिरहेको अर्थमन्त्री पुनको भनाइ छ ।

उहाँले २.५ प्रतिशत पुँजीगत खर्च चालु वर्षमा भन्दा वृद्धि गरी खर्च गर्ने लक्ष्य राखेको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा प्रदेश र स्थानीय तहमा पठाउनेमा पनि चालु वर्षभन्दा आगामी वर्ष वृद्धि गरेको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement