सुदूरपश्चिम प्रदेशको वार्षिक नीति तथा कार्यक्रम पारित

जेष्ठ २४, २०८१ |टेकराज जोशी
सुदूरपश्चिम प्रदेशको वार्षिक नीति तथा कार्यक्रम पारित

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८१/८२ को वार्षिक नीति कार्यक्रम आज पारित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष ०८१/८२को वार्षिक नीति कार्यक्रममाथिको छलफलपछि सर्वसम्मतिले पारित भएको हो । पारित हुनुअघि सभामा भएको छलफलका क्रममा कतिपय प्रदेश सभा सदस्यहरुले सरकारले ल्याएको नीति कार्यक्रम गत विगतकै निरन्तरता भएको, नयाँ कुरा केही नसमेटिएको भन्दै यसको कार्यान्वयनको पाटो कमजोर देखिएको बताएका छन् । सरकारले बजेट छुट्याउने तर खर्च नहुने प्रवृत्तिका कारण विकास निर्माण प्रभावित बनेको नेपाली कांग्रेसका प्रदेश सभा सदस्य मेघराज खड्का र राप्रपाकी खेमादेवी विष्टको गुनासो थियो ।

नीति तथा कार्यक्रममा उल्लेख भएभन्दा फरक तरिकाले बजेट आउने गरेको गुनासो गर्दै प्रदेश सभा सदस्यहरुले आगामी बजेटमा कृषि क्षेत्रलाई विशेष प्राथमिता दिनुपर्ने धारणा राखे । संघीय सरकार मातहत रहेका योजना बजेट अभावमा अलपत्र परेको भन्दै ती योजनाको कार्यान्वयनका लागि पहल गर्नुपर्ने माओवादी केन्द्रका सांसद शिवसिंह ओलीले बताउनुभयो ।

सुदूरपश्चिम प्रदेशको बजेट खर्च : चालु ४५ प्रतिशत, पुँजीगत ३८ प्रतिशत

नीति तथा कार्यक्रम र बजेट निर्माण गर्ने बेलासम्म पनि प्रदेश सरकारले पूर्णता नपाउँदा विकासका काम र मन्त्रालयका गतिविधि प्रभावित बनेको भन्दै सरकारलाई पूर्णता दिन प्रदेशसभा सदस्यहरुले आग्रह गरे । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले छलफलमा उठेका प्रश्नको जवाफ दिँदै आएका सुझाव-सल्लाहलाई सकेसम्म सम्बोधन गरेर आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले बजेट निर्माणका क्रममा बिचौलियाको चलखेल भइरहेको भन्ने कुरा गलत भएको भन्दै उनीहरुको प्रभाव हुन नदिने बताउनुभयो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रममाथि टेकेर असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।