परम्परागत पेसालाई गुजाराको माध्यम बनाउँदै चमार समुदाय

जेष्ठ २१, २०८१ |उपेन्द्र ठाकुर
परम्परागत पेसालाई गुजाराको माध्यम बनाउँदै चमार समुदाय

वीरगन्ज । सहरको फुटपाथमा जुत्ता सिलाएर बस्ने दलित समुदायका चमार जातिहरु अहिले पनि यो पेसालाई नै आफ्नो जीवन गुजाराको माध्यम बनाएका छन् । दिनभरिको कमाइले छाक टार्न पनि मुस्किल पर्ने उनीहरुले कमजोर आर्थिक अवस्थाका कारण पेसालाई व्यावसायीकरण गर्न सकेका छैनन् ।

वीरगन्ज महानगरपालिका-८ गहवाका जयमागल महरा बिहान सूर्य उदाएसँगै घर खर्चको जोहोमा निस्किनुहुन्छ । काँधमा जुत्ता सिलाउने सामाग्री राखेको बाकस अनि मनमा दिनको छाक टार्ने आश बोकेर उँहा दैनिक वीरगन्जको घण्टाघर पुग्नुहुन्छ । अनि नजिकको फुटपाथमा बसेर जुत्ता सिलाउन आउने ग्राहकको पर्खाइमा बस्नुहुन्छ । जुत्ता सिलाउने आफ्नो पुर्ख्यौली पेसालाई १० वर्षको उमेरदेखि नै अँगाल्दै आएको बताउने उहाँ गर्मीले अहिले ग्राहक कम भएकोले खर्च जुटाउन मुश्किल भएको बताउनुहुन्छ ।

तराईमा बसोबास गर्ने दलित समुदायको चमार जातिको पुर्ख्यौली पेसा नै हो जुत्ता सिलाएर गुजारा गर्नु । आर्थिकनगरीको परिचय स्थापित गरेको वीरगन्ज महानगरपालिकाको ८ नम्बर वडामा झण्डै २५ घरधुरी चमार जातिको बसोबास छ । तिमध्ये प्रायले यो पेसालाई नै आफ्नो गुजाराको माध्यम बनाएका छन । सहरको फुटपाथमा बसेर जुत्ता सिलाउन आउने ग्राहक पर्खेर बस्ने यिनीहरु जाडोमा जुत्ताको प्रयोग बढ्दा आम्दानी पनि बढने तर गर्मीमा तराईमा जुत्ताको प्रयोगमा आउने कमीसँगै आम्दानी पनि कम हुनेगरेको बताउँछन् ।

दिनभरीको कमाईले खर्च टार्नै धौ-धौ पर्ने यिनीहरुले आफ्नो सन्तानलाई उचित शिक्षादिक्षा दिन सकेका छैनन् । केहीले आफ्ना नानीबाबुहरुलाई नजिकको सामुदायिक विद्यालयमा भर्ना गराए पनि कमजोर आर्थिक अवस्थाका कारण घरखर्चमा सघाउन बिचमै पढाइ छाडेर यो पेसामा लाग्न बाध्य हुन्छन् ।

यसले यिनीहरुको आर्थिकसँगै सामाजिक अवस्थालाई झन कमजोर बनाएको छ । जुत्ता बनाउने चमार जातिको पेसालाई व्यावसायीकरण गरी उद्योग र व्यवसायको माध्यमबाट अन्य वर्ग वा जातिले यसबाट राम्रो कमाइ गरिरहेका छन् । तर जुत्ता बनाउने ज्ञान र सिपमा अब्बल भए पनि कमजोर आर्थिक अवस्थाका बीच यिनीहरुको जुत्ता सिलाउने प्रविधि समेतमा पहुँच हुन सकेको छैन । जसका कारण अहिले पनि हातमुख जोर्न यिनीहरुले फुटपाथ नै कुर्नुपर्ने बाध्यता छ ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।