झापाको मेचीनगरमा २६ दशमलव ९६ प्रतिशत मात्र पुँजीगत खर्च

जेष्ठ १८, २०८१ |रमा दाहाल|गणेशमान मुखिया
झापाको मेचीनगरमा २६ दशमलव ९६ प्रतिशत मात्र पुँजीगत खर्च

झापा । संघीय सरकारले वित्तीय समानीकरण अनुदान कटौती गरेपछि विकास निर्माण प्रभावित बनेको गुनासो भइरहेका झापाका अधिकांश स्थानीय तहले आर्थिक वर्ष सकिन डेढ महिना मात्रै बाँकी रहँदा औसतमा ५० प्रतिशत पनि पुँजीगत खर्च गर्न सकेका छैनन् । केहीले भने ८८ प्रतिशतभन्दा माथि विकास बजेट खर्च गरेको आँकडा सार्वजनिक गरेका छन् ।

आर्थिक वर्ष सकिन डेढ महिना बाँकी छँदा झापाको मेचीनगर नगरपालिकाले २६ दशमलव ९६ प्रतिशत मात्र पुँजीगत खर्च गर्न सकेको छ । लामो समय प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको मेचीनगरमा पटक पटक जनप्रतिनिधि र कर्मचारीबीच विवाद बढ्दा विकास निर्माण प्रभावित बन्दै आएको छ । जसका कारण पनि यो वर्ष मेचीनगर झापाभरमै कम विकास बजेट खर्च गर्ने पालिका बनेको हो । 

चालु आर्थिक वर्षको साढे १० महिनामा मुस्किलले २७ प्रतिशत विकास बजेट खर्च गरे पनि अबका डेढ महिना युद्धस्तरमा काम गरेर कम्तीमा ८० प्रतिशत पुँजीगत खर्च गर्ने कर्मचारी प्रशासनको दाबी छ । 

असार लागेपछि हतारमा काम गरेर बजेट सिद्ध्याउने प्रवृत्तिबाट स्थानीय तह पनि अछुतो छैनन् । जसको परिणाम विकास निर्माणका अधिकांश काम गुणस्तरहीन हुने गरेका छन् । संघीय सरकारले समयमै स्रोत सुनिश्चित गर्न नसक्दा र पालिकाहरूले पनि स्रोत सुनिश्चित हुने भरपर्दो आधार नदेख्दा पुँजीगत खर्च हुन नसकेको बताइएको छ । यस्तो अवस्थामा पनि झापाकै कन्काई नगरपालिकाले भने ८८ प्रतिशतभन्दा बढी विकास बजेट खर्च गरिसकेको आँकडा सार्वजनिक गरेको छ । जनप्रतिनिधिको निरन्तर अनुगमन र कामका लागि कर्मचारीसँग समन्वय बढाएकाले यो प्रगति हात लागेको नगरप्रमुखको दाबी छ । 

१५ स्थानीय तह रहेको झापामा कन्काई नगरपालिकाबाहेक सबै तहको विकास बजेट ५० प्रतिशत हाराहारीमा खर्च भएको छ। जुनसुकै विकासका काममा केन्द्रको मुख ताक्नै पर्ने बाध्यता त छँदै छ, त्यसमाथि कर्मचारी र जनप्रतिनिधिबीच सतहमै देखिने द्वन्द्वले स्थानीय तह विकास बजेट खर्चमा कमजोर बन्दै गएका हुन् ।


Image

रमा दाहाल

दाहाल कान्तिपुर टेलिभिजनकी झापा संवाददाता हुन् ।

Image

गणेशमान मुखिया

मुखिया कान्तिपुर टेलिभिजनका झापा संवाददाता हुन् ।