काठमाडौं । मुलुकको अर्थतन्त्र एक सय ३ खर्बको बनाउने लक्ष्य १६ औं पञ्चवर्षिय योजनाले लिएको छ । उत्पादन, उपभोग र रोजगारी वृद्धि केन्द्रित १६ औं योजनामा पाँच वर्षमा आर्थिक वृद्धिदर ७ दशमलब १ प्रतिशत पुर्याउने लक्ष्य छ ।
योजना आयोगले आज पत्रकार सम्मलेन गर्दै १६ औं योजनामा साक्षरता दर ८५ प्रतिशत पुर्याउने र बेरोजगारी ५ प्रतिशतमा झार्ने, जलविद्युत क्षमता ११ हजार ७ सय मेगावाट पुर्याउने लक्ष्य लिइएको जनाएको छ । त्यस्तै प्रतिव्यक्ति आय १४ सय ५६ डलरबाट बढेर २३ सय ५१ पुग्ने अनुमान छ । १६ औं योजनाले लिएका लक्ष्य पूरा गर्न १ सय ११ खर्ब ८४ अर्ब लाग्नेछ ।
मुलुक संघीयतामा गईसकेपछि तीनै तहका सरकारको बजेट पूर्वाधारमा बढी खर्च हुँदा सामाजिक सूचक खस्किँदै गएको ठहर गर्दै १६ औं योजनाले सामाजिक क्षेत्रलाई पनि उकास्ने लक्ष्य लिएको छ। संघ, प्रदेश र स्थानीय तह तथा विज्ञसहित ३ हजारभन्दा धेरै सम्मिलित छलफलबाट तयार गरिएको दाबी गर्दै आयोगले १६ औं योजना विगतका भन्दा फरक भएको दाबी गरेको छ ।
सुशासन, सामाजिक न्याय र समृद्धि १६ औं योजनाको सोच हो । १६ औं पञ्चवर्षिय योजना आर्थिक वर्ष ८१/८२ देखि ८५/८६ सम्म चल्नेछ ।