बाराको निजगढमा प्रविधिको प्रयोग गरेर खुवा उत्पादन गरिँदै

दैनिक ६ क्विन्टलसम्म उत्पादन
बरमझियादेखि बनेपासम्म बिक्री
वैशाख २९, २०८१ |उपेन्द्र ठाकुर
बाराको निजगढमा प्रविधिको प्रयोग गरेर खुवा उत्पादन गरिँदै

वीरगञ्ज । दुध बिक्री गर्नुभन्दा दुधको परिकार बनाएर बिक्री गर्दा बढी फाइदा हुन्छ । अझ त्यसमा प्रविधिको प्रयोग गर्ने हो भने त्यसले समय र उत्पादन लागत त घटाउँछ नै, गुणस्तरीय उत्पादनले बजारमा राम्रो मूल्य पाउँदा किसानलाई धेरै फाइदा हुन्छ । यसको उदाहरण बाराको निजगढमा देख्न सकिन्छ।

चुल्होमाथि राखेको कराईको दुधलाई घण्टौ घोट्दै असिनपसिन भएर खुवा बनाउने काम गर्दैआएका बारा निजगढ नगरपालिका-६ का पशुपालक किसान धर्मप्रसाद तिमिल्सिनाको चुलोमा यतिबेला आगो बलेको छैन । यसको कारण हो तिमिल्सिनाले हालै भित्र्याएको खुवा बनाउने यो नयाँ प्रविधि । तिमिल्सिनाले १४ लाख रुपैयाँ खर्चेर ल्याएको यो प्रविधिको प्रयोग गरी कम इन्धन खर्चेर २० मिनेटमा एक सय २० लिटर दुधको खुवा तयार गर्नुहुन्छ ।

दुधभन्दा खुवामा राम्रो आम्दानी भएपछि विगत ७ वर्षदेखि उहाँ खुवा व्यसायमा लाग्नु भएको छ । आफैले पालेको भैंसीबाट उत्पादित दुधबाट खुवा बनाउन सुरुवात गर्नुभएका तिमिल्सिनाले दुध अपुग भएपछि गाउँभरको दुध संकलन गर्न सर्वहितैसी डेरि सञ्चालनमा ल्याउनुभयो । आफुले उत्पादन गरेको दुध यो डेरीमा ढुक्क भएर बिक्री गर्न पाएपछि यो गाउँमा पशुपालक किसानको संख्या पनि बढेको तिमिल्सिना बताउनुहुन्छ । 

निजगढमा मात्रै झन्डै तीन सय पशुपालक किसान छन्, जसले दैनिक यसरी दुध घोटेर खुवा उत्पादन गर्छन् । यीमध्ये केही किसान व्यवसायिक रुपमै ठुलो मात्रामा खुवा उत्पादन गर्छन् भने केहीले आफुले उत्पादन गरेको खुवा संकलन केन्द्रमा बिक्री गर्छन् । निजगढले मात्रै दैनिक पाँचदेखि ६ क्विन्टल खुवा बनेपा, धुलिखेल, जनकपुर, बरमझिया र वीरगञ्ज लगायतका बजारमा पठाउने गरेको छ । जसबाट बार्षिक १८ देखि २० करोड रुपैयाँको खुवाको कारोबार भएको छ ।

प्रविधिको प्रयोगले श्रम, इन्धन र समयको बचतसँगै खुवाको उत्पादन लागत त घटेको छ नै, प्रविधिको प्रयोगबाट गुणस्तरीय उत्पादन र मुनाफामा समेत वृद्धि गरेको छ ।


Image

उपेन्द्र ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका पर्सा संवाददाता हुन् ।