नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण तीव्र

पाँच वर्षमा ७४ प्रतिशत काम सकियो, समयमै सकिने अपेक्षा
चैत्र ३०, २०८० |दीपेन्द्र शाक्य
नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको निर्माण तीव्र

सङ्खुवासभा । नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । सुरुङ, पावर हाउस, बाँधसहित अन्य सहायक पूर्वाधार निर्माणका काम झन्डै ७३ प्रतिशत सकिएको छ । अहिलेकै गतिमा निर्माण कार्य भए निर्धारित समयमै परियोजना सकिने स्थानीयको विश्वास छ ।

अरुण तेस्रो जलविद्युत् परियोजनाको निर्माण स्थलमा करिब १२ किलोमिटर सुरुङ मध्ये ९५ प्रतिशत काम सकिएको छ । २ सय १७ किलोमिटर लम्बाइमा बन्ने ५ सय ९७ वटा टावर निर्माणको काम पनि १६ प्रतिशत सकिएको भारतीय निर्माणकर्ता सतलजले जनाएको छ । त्यस्तै बाँधास्थलमा ८० मिटर गहिराइको बाँध बाँध्न  खन्ने काम पनि सकिएको छ । 

सडक र पहाडभित्र पावर हाउस निर्माणको काम पनि सँगै भइरहेको छ । पाँच वर्ष अघि सुरु भएको परियोजनाको काम अहिलेकै गतिमा अगाडि बढे निर्धारित समयमै सकिने निर्माणकर्ताको दाबी छ । स्थानीयले पनि चाँडोभन्दा चाँडो निर्माण सकेर उत्पादन सुरु भए जनजीवन फेरिने बताउँदै आएका छन् । 

सङ्खुवासभाको मकालु गाउँपालिका ३ र ५ स्थित र्‍याक्सिन्दा दोभानबाट पावर हाउसस्थल चिचिला गाउँपालिकाको पुखुवामा पानी पुर्‍याउन ९ दशमलव ५ मिटर परिधिको ११ दशमलव ७८ किलोमिटर सुरुङ निर्माणको काम अन्तिम चरणमा छ । 

पावर हाउसमा आउने बाँधको पानीलाई दुईवटा सुरुङमा बाँडेर स्टिल पाइपमार्फत चार वटा टर्वाइन घुमाइने छ । २ सय २५ मेगावाट क्षमताको यी चार वटै टर्वाइनबाट सन २०२५ को मार्चमा नौ सय मेगावाट विद्युत् उत्पादन गर्ने तयारी सतलजले गरिरहेको छ ।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।