कोल्ड स्टोरमै कुहिए सुन्तला, किसानले पाएनन् क्षतिपूर्ति

मंसिर २९, २०८० |रोशन लामिछाने
कोल्ड स्टोरमै कुहिए सुन्तला, किसानले पाएनन् क्षतिपूर्ति

स्याङ्जा । स्याङ्जाको पुतलीबजार नगरपालिका ११, जैसीडाँडाको कोल्ड स्टोरमा राखेका सुन्तला कुहिएको पनि एक वर्ष बित्यो । तर सम्बन्धित निकायले समयमै ध्यान दिन नसक्दा पीडित किसानले अझैसम्म पनि क्षतिपूर्ति पाउन सकेका छैनन् । आश्वासन मात्रै पाएका किसान निराश बनेका छन् । 

आफ्नो बगैँचामा फलेको सुन्तला सिजनमा कोल्ड स्टोरमा राखी बेसिजनमा बिक्री गरेर राम्रो आम्दानी गर्ने सोच थियो पुतलीबजार ७ ठुलाडिहीका डिलबहादुर रानाको । कोल्ड स्टोरमा राखेका सुन्तला कुहिएपछि उनको योजना तुहियो । तर सुन्तला कुहिएको वर्ष दिन बितिसक्दा पनि त्यसबापतको क्षतिपूर्ति उनले अहिलेसम्म पाउन सकेका छैनन् । रानाजस्तै कोल्ड स्टोरमा सुन्तला राख्ने सबै किसान यो साझा व्यथा हो ।

आफ्नो ५० प्रतिशत जति सुन्तला कुहिएको किसान बोधराज अर्याल बताउँछन् । ‘कोल्ड स्टोरबाट क्षतिपूर्ति पाइएला भन्ने आशा लागेको थियो,’ उनले भने, ‘तर कत्ति पनि क्षतिपूर्ति हामीले पाएका छैनौँ ।’

कोल्ड स्टोरमा राखेका सुन्तला कुहिएपछि गण्डकी प्रदेशका सरकारका प्रतिनिधिहरू स्याङ्जा आएर घटनाको अनुगमन गरेका थिए । पटकपटक अनुगमन र निरीक्षण भए पनि किसानले क्षतिपूर्तिको रकम हालसम्म पाउन सकेका छैनन् । सुन्तलाको भण्डारण प्रक्रिया र कोल्ड स्टोरको भित्री तापक्रम नमिल्दा सुन्तला कुहिएको कृषि प्राविधिक बताउँछन् ।

कोल्ड स्टोरमा २ सय किसानले २/४ क्रेटदेखि १ हजार ४ सय क्रेटसम्म सुन्तला राखेका थिए । भण्डारण गरिएका ६० प्रतिशत सुन्तला कुहिएका थिए । २ करोड ३० लाखको सुन्तला भण्डार भएकोमा १ करोड ५० लाख बराबरको सुन्तला बिग्रिएर नष्ट भयो । क्षतिपूर्तिका लागि किसानको नाम र क्षतिको लगत संकलन भए पनि थप प्रगति हुन सकेको छैन ।

किसानले कोल्ड स्टोरमा सुन्तला कुहिएपछि बचेखुचेका सुन्तला निकै सस्तोमा बेचेका थिए । किसानले उत्पादन गरेका कृषि उपभोग्य सामानहरूलाई बेसिजनमा बजारसम्म पुर्‍याउन राज्यले व्यवस्थित तरिकाले कोल्डरुम र स्टोरहरू सञ्चालन गर्नुपर्ने देखिन्छ । 


Image

रोशन लामिछाने

लामिछाने कान्तिपुर टेलिभिजनका स्याङ्जा संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement