बजार अनुगमन औपचारिकतामै सीमित, कारबाही शून्य

कार्तिक २, २०८० |मीनराज रोका
बजार अनुगमन औपचारिकतामै सीमित, कारबाही शून्य

रोल्पा । रोल्पामा चाडपर्वका बेला हुने बजार अनुगमन औपचारिकतामा सीमित हुने गरेको छ । अनुगमनका क्रममा व्यापारीले म्याद गुज्रिएका तथा अखाद्य वस्तु बेच्न राखेको पाइए पनि कुनै कारबाही भएन । न त अनुगमन टोलीले त्यस्ता अखाद्य वस्तु जफत गरी नष्ट गर्ने आँट नै गर्‍यो ।

दसैंतिहारजस्ता ठूला चाडपर्वका बेला हुनसक्ने कालोबजारी नियन्त्रण गर्ने भन्दै रोल्पामा जिल्ला प्रशासन, स्थानीय तह र जिल्लाका अन्य सरोकारवाला निकायसहितको टोलीले संयुक्त बजार अनुगमन गरिरहेको छ ।

अनुगमनका क्रममा म्याद गुज्रिएका तथा अखाद्य वस्तु बिक्रीका लागि राखेको पाइयो । त्यस्तै दर्ता नै नगरी अस्पताल सञ्चालन गरिरहेकोसमेत भेटियो । तर पनि अनुगमन टोलीले कुनै कारबाही गरेन । एकपटकलाई भन्दै उल्टै छुट दिइयो ।

अहिले मात्र होइन हरेकपटक बजार अनुगमन गर्दा यही प्रवृत्ति दोहोरिने गरेको छ । म्याद नाघेका वस्तु कम्पनीलाई फिर्ता गर्ने पसलेको भनाइ पत्याएर अनुगम टोलीले ती वस्तु नियन्त्रणमा समेत लिएन ।

यस्तै फितलो अनुगमन नियालिरहेका उपभोक्ताले सरोकारवाला निकायको यस्तै लाचारीले आफूहरु हरेकपटकको किनमेलमा ठगिनुपरेको गुनासो गरेका छन् । ‘बजार अनुगमन अलि लोसे पाराले भइरहेको छ । भनेको जस्तो भएन,’ रोल्पाका धनराज डीसीले भने । अनुगमन गर्ने र कारबाही नगर्ने प्रवृत्तिले उपभोक्तालाई मार परेको स्थानीय ध्रुवचन्द्र पुनमगरको अनुभव छ ।

रोल्पा जिल्लाभर एक हजारभन्दा बढी किराना, खाद्यान्न पसलसँगै होटेलहरु छन् । संयुक्त अनुगम टोलीले साना पसल र होटेलहरुमा मात्रै अनुगमन गरेको छ । सबैतिर अनुगमन नहुँदा ठूला व्यवसायीको दबाबमा परेको आरोप लागेको छ ।

तर प्रशासन भने अनगुमन गर्दा भेटिएका अखाद्य वस्तु तथा मापदण्डविपरीत सञ्चालन गरेका पसललाई कारबाही गरेको दाबी गर्छ । ‘विगतको अनुगमनको तुलनामा बजार सुधारोन्मुख रहेको हाम्रो ठम्याइ छ,’ प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले भने, ‘दर्ता नभएका पसलहरुलाई एक साताको समय दिएर दर्ता गर्नुस् भनेका छौं ।’

फितलो बजार अनुगमनले उपभोक्ता मारमा परिरहेका छन् । साँच्चै उपभोक्ता हितमा काम गर्ने हो भने कर्म पूरा गरेजस्तो अनुगमनका नाममा अनुगमन नगरी कैफियत गर्नेलाई कारबाही गर्नैपर्छ ।


Image

मीनराज रोका

रोका कान्तिपुर टेलिभिजन रोल्पा संवाददाता हुन् ।