दैनिक २० किलो आयात कोटाले सुन व्यवसायी उत्साहित

आश्विन ११, २०८० |कान्तिपुर टीभी संवाददाता
दैनिक २० किलो आयात कोटाले सुन व्यवसायी उत्साहित

काठमाडौं । नेपाल राष्ट्र बैंकले करिब २ वर्षपछि सुन आयातको कोटा परिमार्जन गरेको छ । दैनिक १० किलो सुन आयात गर्दै आएका बैंकहरुले अब २० किलो ल्याउन पाउने भएका छन् ।

वैदेशिक मुद्राको सञ्चिती घट्दै गएपछि नेपाल राष्ट्र बैंकले २०७८ फागुनमा सुन आयातको कोटा दैनिक १० किलोमा सीमित गरेको थियो । तर बुधबारदेखि २० किलो पुर्याएको छ ।

नेपालमा विवाहको सिजनमा दैनिक ३० देखि ४० किलोसम्म सुनको माग हुने भए पनि आपूर्ति १० किलो मात्रै थियो । माग पूरा गर्न व्यापारीले गैरकानुनी रुपमा आयात भएको सुनसमेत खरिद गर्ने गरेका थिए । राष्ट्र बैंकले कोटा बढाएपछि अब बजार चलायमान हुनुका साथै गैरकानुनी कारोबार रोकिने नेपाल सुन चाँदी व्यवसायी महासंघको दाबी छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्य भन्छन्, ‘मागअनुसार राज्यले सुन उपलब्ध गराएन भने स्वत: बजार कालोबजारी र तस्करको नियन्त्रणमा हुन्छ । त्यसकारण पनि हामीले सुजको कोटा बढाउन लबिङ गरेका थियौं । अब २० केजीको कोटा पुगेको छ । यो स्वागत योग्न निर्णय हो ।’

के भन्छन् अर्थविद् ?

नेपालमा वाषिर्क ६० अर्बभन्दा बढीको सुनको कारोबार हुने गरेको तथ्यांक छ । सुनले राजस्वमा वाषिर्क ६ अर्बभन्दा बढी योगदान पुर्‍याएको छ । अहिले सरकारले प्रति १० ग्राम सुनमा १२ हजार रुपैयाँ राजस्व लिने गर्छ । सुन व्यवसायमा करिब २ लाखले रोजगारी पाएका छन् ।

सरकारको कोटा थप गर्ने निर्णय उचित रहेको विज्ञको भनाइ छ । त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका सहप्राध्यापक रघुवीर विष्ट भन्छन्, ‘हामीले निर्यात गर्न सक्ने र सम्भावना भएको घरेलु उद्योगको रुपमा हामीले लिन सक्छौं । यो चाहिँ संकुचित भएर गएर अवस्था थियो । अहिले समयसापेक्ष ढंगले कोटा थप गरेको देखिन्छ ।’

छिमेकी भारत र चीनमा सुनको माग उच्च छ । विश्व बजारमा सुनको करिब ५७ प्रतिशत माग चीन र भारतमा मात्रै छ । सन् २०२६ सम्म विश्वभर ३ सय ७ अर्ब डलरको सुन व्यापार हुने अध्ययनले देखाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.