भारतबाट कुखुराको अवैध आयात बढ्यो, सीमामा प्रहरीको फितलो निगरानी

आश्विन ९, २०८० |भुवन पाण्डे
भारतबाट कुखुराको अवैध आयात बढ्यो, सीमामा प्रहरीको फितलो निगरानी

रुपन्देही । आयातमा रोक लगाइएको भारतीय कुखुरा सस्तो भएपछि नेपालमा अवैध आयात बढेको छ । सीमा निगरानीका लागि बसेका सुरक्षा निकायको सुरक्षा बार तोडेर सहजै कुखुरा भित्रिन थालेपछि किसानहरु आफैँ सक्रिय भएका छन् ।

अहिले भारतमा जिउँदो कुखुराको मूल्य भारू प्रतिकिलो एक सय २८ र मासुको मूल्य एक सय ५० रुपैँया मात्रै छ । नेपालमा जिउँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय ७० र मासुको मूल्य प्रतिकिलो चार सय २० रुपैँया पर्छ । मूल्यमा ठूलो अन्तर भएपछि रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका नाकाबाट अवैध तस्करी बढेको छ । अझ नाकामा खुकुलो निगरानी र सामान्य जरिवाना तिरेर छानबिन बिनै तस्करहरु छुटिरहेकाले अवैध आयात बढिरहेको पशु क्वारेन्टाइन चेक पोस्ट बेलहियाका प्रमुख सन्तोष यादवले जनाए ।

अवैध आयात बढेपछि मारमा परेका सीमावर्ती जिल्लाका कुखुरापालक किसान अहिले तस्करी रोक्न आफैँ सक्रिय भएका हुन् । गत आइतबार रुपन्देहीको मर्चवार क्षेत्रबाट तस्करी भएको कुखुरा, सवारीसाधनसहित तीन जनालाई समातेर सियारीका किसानले प्रहरीलाई बुझाएका छन् ।

ठाउँ-ठाउँमा प्रहरीको निगरानी भएपनि कुखुरा तस्करी प्रहरीको छेकाबारबाट उम्किरहेको किसानहरुको आरोप छ । गएको दुई महिनामा नवलपरासी पश्चिम, कपिलवस्तु र रुपन्देहीका पशु क्वारेन्टाइन कार्यालयले भारतबाट तस्करी भएको पाँच हजार किलोभन्दा बढी मासु नस्ट गरेको छ । सात हजार पाँच सय २० वटा कुखुराका चल्ला र करिब दुई हजार किलो माछा नस्ट गरेको पशु क्वारेन्टाइनको तथ्यांक छ ।

सीमावर्ती बजारमा छ्यापछ्याप्ती भारतीय कुखुरा पाइन थालेपछि नेपाली कुखुरा पालक किसान मारमा परेका छन् । सुरक्षा निकायको आँखा छलेर अवैध कुखुरा आइरहेपनि सीमा निगरानीका लागि खासै पहल नभएको उनीहरुको गुनासो छ । सीमा निगरानीका लागि सशस्त्र प्रहरी पहिलो बारका रुपमा नाकामा तैनाथ छ । ठाउँ ठाउँमा जनपथ प्रहरीको पनि उपस्थिति छ । तर, सुरक्षा बार तोडेर नाकामा सहजै तस्करी भइरहको छ । सीमा नजिकै रहेका कुखुरा पालक किसानको अभिलेख कसैले राखेको छैनन् । न त खोलिएका फार्म र मासु पसलहरु दर्ता नै छन् । त्यस्ता व्यापारीले किसानका नाममा भारतीय कुखुरा तस्करी गर्ने गरेको तथ्य फेला परेको हो ।

बर्डफ्लूको उच्च जोखिमका कारण भारतबाट कुखुरा र पक्षीजन्य वस्तु आयातमा प्रतिबन्ध छ । तथ्यांकअनुसार कुखुराको मासुमा मुलुक आत्मनिर्भर भनिए पनि सीमावर्ती बजारहरुमा भारतीय कुखुराको मासु बिक्री भइरहेका छन् ।

कुखुरा बिक्रीका लागि स्वस्थकर प्रमाणपत्र आवश्यक पर्छ । तस्करी भएर आएका कुखुरालाई नेपालका पशु चिकित्सकहरुले स्वस्थकर प्रमाणपत्र जारी गर्ने गरेको पाइए पनि कारबाही भएको छैन । बोइलर कुखुरामा सरकारले कुनै अनुदान दिँदैन, बिमा कम्पनीले बिमा गर्न मान्दैनन्, दाना, ब्रिड र बैँक कर्जा महंगो छ । जसले गर्दा नेपाली उत्पादनमा लागत बढिरहेको किसानहरुको भनाइ छ ।


Image

भुवन पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका रुपन्देही संवाददाता हुन् ।