के हो ‘माइस टुरिजम’, किन फस्टाउन सकेन नेपालमा ?

भाद्र २८, २०८० |भरत रावल
के हो ‘माइस टुरिजम’, किन फस्टाउन सकेन नेपालमा ?

काठमाडौं । ‘माइस टुरिजम’भन्ने शब्द धेरैलाई अनौठो लाग्न सक्छ । अंग्रेजी अक्षर एम आई सी ई (MICE) को संयुक्त स्वरुप माइस हो । जसको पूरा रुपको नेपाली अर्थ बैठक, प्रोत्साहन, सम्मेलन र प्रदर्शनी हुन्छ । यस्ता प्रयोजनका लागि आउने पर्यटकलाई माइस टुरिजम भनिन्छ ।

सन् १९८७ अर्थात् ३५ वर्षअघि भएको तेस्रो सार्क सम्मेलनसँगै नेपालमा माइस टुरिजमको अवधारणा विकास भए पनि यो नेपालमा फस्टाउन सकेको छैन ।

विश्वमा पछिल्लो समय माइस टुरिजमले पर्यटन व्यवसायको ठूलो हिस्सा लिएको छ । तेस्रो मुलुकले लाखौं पर्यटक भित्र्याउन थालिसके पनि नेपालमा भने कानुनी समस्याका कारण यसको विकास हुन सकेको छैन् ।

संरचना र गन्तव्यको अभावभन्दा पनि नीतिगत कमजोरीले माइस टुरिजम विकास नभएको सरकारवालको गुनासो छ । होटेल संघ नेपाल विनायक शाह भन्छन्, ‘विवाह गर्न आउनेहरुले धेरै गहना ल्याउनुहुन्छ । हाम्रो देशमा ५० ग्रामभन्दा बढी सुन ल्याउन गाह्रो प्रक्रिया छ । भारतबाट आउँदा नोट ल्याउन प्रतिबन्ध छ । भारतीय नोट पनि २५ हजार भन्दा बढी ल्याउन झन्झट छ । यी कुराहरु सरकारले मिलाउनुपर्छ ।’

लुम्बिनी, बुटवल र गोदावरी हजारौं अट्ने सभा हल भए पनि कानुनी अड्चनका कारण आउन चाहने पर्यटकलाई पनि भित्र्याउन नसकिएको सरोकारवालाहरु गुनासो गर्छन् ।

अहिले नै १७ वटा पाँचतारे होल सञ्चालनमा छन् भने चार तारे, तीनतारे र रिसोर्ट गरी तीन सयभन्दा बढी पर्यटक होटेल सञ्चालनमा छन् । त्यस्तै सयौं होटेल निर्माणाधीन अवस्थामा छन् ।

दुई ठूला छिमेकीको बीचमा रहेको नेपाल माइस टुरिजमको प्रचुर सम्भावना भएको देश हो । कोभिड अगाडि चीनबाट २० करोड र भारत बाट १० करोड जना घुम्न विदेश गएका थिए । ती पर्यटनलाई नेपालमा आकर्षण गर्न सरकारले रणनीति समेत तयार गर्न सकेको छैन ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।