रित्तियो गाउँ, विमानस्थलमा युवाको लस्कर

भाद्र २५, २०८० |भरत रावल
रित्तियो गाउँ, विमानस्थलमा युवाको लस्कर

काठमाडौं । विदेशमा एकजना नभएको परिवार अहिले नेपालमा भेटाउन मुस्किल छ । दैनिक हजारौं युवा बिदेसिँदा गाउँ युवा शून्य बनेको छ । आफूले खोजे जस्तो रोजगारी स्वदेशमै पाए सायद कोही पनि व्यक्ति काम खोज्दै विदेश जान चाहँदैन । तर नेपालको अवस्था त्यस्तो छैन ।

गत आर्थिक वर्षमा मात्रै ७ लाख ७५ हजार नेपाली कामको खोजीमा बिदेसिएको तथ्यांक छ । चालु आर्थिक वर्षको दुई महिना नबित्दै ९६ हजार २५४ जनाले वैदेशिक रोजगारीका लागि र २२ हजारले अध्ययनका लागि भन्दै देश छाडिसकेका छन् ।

दिनहुँ अवसरको खोजीमा विदेश जान खोज्नेहरुको भिड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लाग्ने गरेको छ ।

विदेश जान लगेजसहित विमानस्थल पुगेका शिशिर धिताल बिदेसिनुको मुख्य कारण देशको अस्थिर राजनीतिलाई दोष दिन्छन् । उनी भन्छन्, ‘चरम निराशा छ । राजनीतिक स्थायित्व छैन । ८ कक्षाको विद्यार्थीले पनि विदेश जान्छु भन्छ । कमाएर खान राम्रो व्यवस्था भएको भए सबै यही नै बस्थेँ होला ।’

त्रिभुवन विमानस्थलबाट विदेश प्रस्थान गर्दै एक युवती

विमानस्थमै भेटिएका शिव राईको पनि तर्क उही छ । उनी भन्छन्, ‘देशमा भ्रष्टाचार, महँगीले त हो नि बिदेसिनु परेको । राजनीति डामाडोल छ । बस्न त मन थियो नि ।’

बिदेसिन लागेको यी युवाको देश छाड्न लागेको चिन्ताभन्दा पनि अवसर पाइनेमा आशावादी छन् ।

बानी परे आफन्त

रोजगारीका लागि देश छाड्ने धेरैजसो मलेसिया, दुबई कतारदेखि युरोप पुग्ने गरेका छ । पढ्न जानेहरु भने जापान, अस्ट्रेलियादेखि युरोप र अमेरिकालाई गन्तव्य बनाउँछन् । अघिल्लो वर्ष पढ्न ९० हजार युवा विदेसिएकामा गत आर्थिक वर्षमा यो संख्या बढेर एक लाख १० हजार पुग्यो । स्थिति यस्तोसम्म आएको छ कि आफ्नो प्रियजनलाई बिदा गर्न विमानस्थल पुग्नेहरुका आँखामा आँसुभन्दा मुहारमा खुसी देखिन थालेको छ ।

विदेसिने प्रवृत्ति बढ्दै जाँदा आफन्तलाई बिदा गर्ने बानी परिसक्यो । विमानस्थलमा आफन्त छोड्न आएका ठाकुरप्रसाद न्यौपाने अनुभव सुनाउँछन्, ‘दुई वर्षअघि आफन्तलाई विमानस्थलबाट बिदाई गर्दा आशु आउँथ्यो । अहिले त बाहिर जानू भन्नुपर्ने अवस्था छ । म दुखी छैन ।’

आफ्नो छोरालाई विदेश उडाउन विमानस्थल आएकी लीला श्रेष्ठ

त्यस्तै आफ्नो छोरालाई विदेश उडाउन आएकी लीला श्रेष्ठ पनि सन्तानले राम्रो भविष्य पाउने आशामा दुखी छैनन् । अनुहारमा मुस्कानसहित उनी भन्छिन्, ‘ दुख पनि लाग्छ सुख पनि लाग्छ । तर विदेशमै उनीहरुको भविष्य राम्रो छ । छोरो कमाउन गएको छ खुसी लाग्छ ।’

सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्ने नारा बर्सेनि लगाउँछ । नीति तथा कार्यक्रम र बजेटमा निकै ठूला आश्वासन बाँडिन्छ । तर रोजगारीका अवसर बढ्नुको सट्टा घटेको घट्यै छ भन्ने पुष्टि विमानस्थलमा देखिने लामले पुष्टि गर्छ ।

राजनीतिक दलप्रतिको अविश्वास र देशभित्र अवसरका नयाँ ढोका नखुल्दा युवा पलायन बढेको विज्ञको बुझाइ छ ।

यस प्रवृत्तिबारे अर्थविद् विश्वम्भर प्याकुरेल भन्छन्, ‘कुनै पनि कुराको आकर्षण मुलुकमा भएको देखिएन । पहुँचवाला र सीमित समूहका व्यक्तिहरुले मौका पाए । त्यो मौकालाई सार्वजनिक रुपमा अवसर प्रदान गर्न सक्ने, न त व्यक्तिहरुको नेतृत्वले काम गर्‍यो । र त्यस्ता संस्था यहाँ बसे ।’

अर्का अर्थविद् गोविन्द पोखरेल विश्लेषण र बिदेसिएका युवाको भनाइ ठीक मिल्दोजुल्दो छ । युवा बिदेसिनुको मुख्य कारण नै राजनीति अस्थिरता भएको उनको भनाइ छ ।

अर्थविद् पोखरेल भन्छन्, ‘मिहिनेत गर्नेलाई देशमा राख्ने माहोल भनेको राजनीतिले नै हो । राजनीतिले सुशासनको खिल्ली उडायो । राजनीतिमा छाडातन्त्र हाबी भयो ।’

राष्ट्रिय जनगणना २०७८ अनुसार विदेशमा रहेका नेपालीको संख्या २२ लाख छ । पछिल्ला दुई वर्षमा मात्रै १६ लाख थप युवा विदेश गइसकेका छन् । तर विडम्बना काम गर्न सक्ने उमेर समूहको जनशक्ति विदेसिँदा सरकार रेमिट्यान्समा रमाइरहेको छ ।


Image

भरत रावल

रावल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।


Enter Kantipur TV HD
Advertisement