नयाँ कर कार्यान्वयन आजदेखि, पहिलोपटक विलासिता शुल्क लाग्ने

श्रावण १, २०८० |कान्तिपुर टीभी संवाददाता
नयाँ कर कार्यान्वयन आजदेखि, पहिलोपटक विलासिता शुल्क लाग्ने

काठमाडौं । आजदेखि सुरु हुने नयाँ आर्थिक वर्ष ०८०/८१ सँगै आयकर तथा नयाँ करहरु लागु हुँदै छन् । जेठ १५ मा बजेट सार्वजनिक भएलगत्तै भन्सार, अन्तः शुल्क र मूल्य अभिवृद्धि कर भने लागु भइसकेका छन् ।

आयकर ऐन २०५८ मा भएको संशोधन साउन १ देखि लागु हुँदै छ । यसअघि २० लाखभन्दा माथिमा ३६ प्रतिशत कर लाग्थ्यो । तर, अब आजदेखि वार्षिक ५० लाखभन्दा बढी कमाउनेलाई ३९ प्रतिशत आयकर लाग्ने भएको छ ।

त्यस्तै नयाँ आर्थिक वर्षदेखि पहिलोपटक विलासिता शुल्क कार्यान्वयनमा आउने भएको छ । अब पाँचतारे होटेल वा त्यसभन्दा माथिका होटेल तथा रेस्टुरेन्टले प्रदान गर्ने सेवामा २ प्रतिशत विलासिता शुल्क लगाइएको छ । साथै १० लाखभन्दा बढीको बहुमूल्य धातुमा पनि विलासिता शुल्क लाग्नेछ ।

यस्तै, वैदेशिक पर्यटन शुल्क पनि आजदेखि नै लागु हुनेछ । जसअनुसार ट्राभल एजेन्सीले बिक्री गर्ने वैदेशिक भ्रमणको प्याकेजमा पाँच प्रतिशत पर्यटन शुल्क लाग्नेछ । वैदेशिक रोजगार सेवा शुल्क अर्थात् वैदेशिक रोजगारीमा गएकाहरुले कम्पनीलाई तिरेको रकमको १ प्रतिशत शुल्कको व्यवस्था पनि आजदेखि नै कार्यान्वयनमा आउनेछ ।

भन्सार महसुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर, सडक निर्माण दस्तुर र मोबाइल फोनको दर्तासम्बन्धी व्यवस्था जेठ १५ कै रातिदेखि कार्यान्वयनमा आएको छ । साथै थप सार्वजनिक सेयर निष्कासन (एफपीओ) मा करसम्बन्धी व्यवस्था र सुजीको कारोबारमा कर छुटसम्बन्धी व्यवस्था पनि कार्यान्वयनमा आइसकेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.