ओखलढुंगामा व्यावसायिक आँप खेती

असार २५, २०८० |कुम्भराज राई
ओखलढुंगामा व्यावसायिक आँप खेती

ओखलढुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका १, बलखुका बासिन्दा विगत ६ वर्षदेखि व्यावसायिक आँपखेतीमा लागेका छन् । परम्परागत अन्नबालीभन्दा आँपखेतीबाट बढी फाइदा हुने देखेर यहाँका तीन सयभन्दा बढी घरधुरीले आँपखेती सुरु गरेका हुन् । आँपले फल दिन सुरु गर्दा किसानलाई बजारको भने चिन्ता छ ।

सुनकोशी गाउँपालिका १, बलखुकी मसिनीमाया मगरले मकै बारीमा आँप रोप्न खाल्डो खन्दा सुरुमा गाउँलेले कुरा काटे । तर आँपले उत्पादन दिन थालेपछि सबैजनाले उनेको सिको गर्न थालेका छन् । सुरुमा आँप सप्रिएला कि न सप्रिएला भनेर दुई सय बोट मात्रै परीक्षणका लागि रोपेका ढुण्डीराज पहाडीको एक सय बोट आँप यसै वर्षदेखि फल्न थालेको छ ।

समुद्र सतहबाट सात सयदेखि एक हजार मिटर उचाइमा रहेको बलखुमा तीन सय घरधुरीले आँपखेती थालेका छन् । कृषि ज्ञान केन्द्रले ब्लक कार्यक्रम सञ्चालन गरेपछि तीन वर्ष पहिले एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा माल्दा, कलकत्ते, बम्बई जातका आँपका १५ हजार कलमी बिरुवा रोपिएको हो । यस वर्षदेखि पाँच हजार बोटले उत्पादन दिन थालेको छ । एक घरधुरीले कम्तिमा १० देखि दुई सय बोटसम्म आँप रोपेका छन् ।

‘कृषकको क्षमता, तत्परतालाई जोड्दै व्यावसायिक किसानलाई सामानहरू वितरण गरेका छौं,’ सुनकोशी गाउँपालिकाका कृषि प्राविधिक कुशल पहाडीले भने ।

तर यहाँ उत्पादन भएको आँपलाई बजारको समस्या देखिएको छ । बजार व्यवस्थापनमा स्थानीय तह अग्रसर हुनुपर्ने कृषि ज्ञान केन्द्रको भनाइ छ । ‘यसका लागि स्थानीय तहले पनि विशेष चासो राखेर बजारीकरणमा सहयोग गरिदिए हुन्थ्यो,’ कृषि ज्ञान केन्द्र ओखलढुंगाका प्रमुख हेमबहादुर आलेले भने ।

गाउँपालिकाले बजार व्यवस्थापनका लागिसमेत पहल गरिरहेको जनाएको छ । ‘संकलन केन्द्र र चिस्यान केन्द्र साथै हामीलाई यातायातको साधनको व्यवस्था गर्नुपर्ने परिस्थिति देखिन्छ,’ सुनकोशी गाउँपालिका १ का वडाध्यक्ष प्रकाश सापकोटाले भने ।

बलखु क्षेत्रमा रोपिएका आँपका सबै बोटले उत्पादन दिन थालेपछि पहाडी जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बुसम्म आँपको माग धान्न सक्ने अनुमान कृषि प्राविधिकको छ । ओखलढुंगा सदरमुकाम आसपासमा मात्र सिजनमा झन्डै ५० लाख रुपैयाँको आँप बिक्री हुने गर्छ । 


Image

कुम्भराज राई

राई ओखलढुंगाका कान्तिपुर टीभी संवाददाता हुन् ।