नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान

जेष्ठ ४, २०८० |कान्तिपुर टीभी संवाददाता
 नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको ८१ प्रतिशत योगदान

काठमाडौं । नेपालको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ दशमलव पाँच  प्रतिशत रहेको देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र इन्टरनेसनल फाइनान्स कर्पोरेसनले सार्वजनिक गरेको प्रतिवेदनमा राष्ट्रिय अर्थतन्त्रमा निजी क्षेत्रले महत्वपूर्ण स्थान ओगटेको देखिएको हो ।

आज काठमाडौंमा सार्वजनिक गरिएको 'निजी क्षेत्रले अर्थतन्त्रमा पुर्याएको योगदान' सम्बन्धी प्रतिवेदनमा तीन दशकमा ३० गुणा वृद्धि भएको उल्लेख छ । कुल लगानीमा ७६ दशमलव नौ प्रतिशत स्थान ओगटेको छ भने यसले ५५ लाखलाई रोजगारी प्रदान गरेको प्रतिवेदनमा जनाइएको छ । यो अनुसार कुल रोजगारीमा निजी क्षेत्रको योगदान ८५ दशमलव ६ प्रतिशत हुन आउँछ । निजी क्षेत्रको अर्थतन्त्रमा योगदानमा केन्द्रित रहेर तयार पारिएको यो पहिलो प्रतिवेदन हो । अहिले अधिकांश उद्योग आधा क्षमतामा मात्रै चलेकाले आगामी बजेटमा निजी क्षेत्रको सुधारका लागि विशेष कार्यक्रम ल्याउन महासंघले आग्रह गरेको छ ।

कुल निर्यातमा बिजुलीबाहेक अन्य सबै वस्तुमा निजी क्षेत्रको मात्रै योगदान रहेको प्रतिवेदनमा उल्लेख छ । कुल खपतमा निजी क्षेत्रको योगदान ८७ प्रतिशत देखिएको छ भने पछिल्लो एक दशकमा औसतमा ७१ दशमलव ६ प्रतिशतले लगानी वृद्धि गरेको उल्लेख छ । सरकार बजेट निर्माणको चरणमा रहेका बेला यो प्रतिवेदन सार्वजनिक गरिएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement