कहिले लागु होला बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने कानुनी व्यवस्था ? (भिडियो रिपोर्ट)

चैत्र ३, २०७९ |सुदिल पोखरेल
कहिले लागु होला बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने कानुनी व्यवस्था ? (भिडियो रिपोर्ट)

काठमाडौं । योग्य संस्थागत लगानीकर्ताबाट मूल्य तय गर्ने अर्थात् बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने कानुनी व्यवस्था भएको २ वर्ष बितिसक्यो । तर, यो विधिबाट अहिलेसम्म सेयर जारी भएको छैन । जसका कारण बजारमा राम्रो नाफा कमाएका उत्पादनमूलक क्षेत्रमा संलग्न कम्पनीको प्रवेशमा बाधा त पुगेको छ नै, आवेदन दिइसकेका कम्पनीले रकम संकलन गरेर व्यवसाय विस्तार गर्नसमेत पाएका छैनन् ।

धितोपत्र बोर्डले बुक बिल्डिङ विधिबाट सेयर जारी गर्ने व्यवस्था कार्यान्वयनका लागि दुई वर्षअघि निर्देशिका जारी गर्‍यो । त्यसपछि सर्वोत्तम सिमेन्टले यसै विधिबाट सेयर जारी गर्न चासो बढायो र बोर्डसँग छलफल गर्‍यो । यही क्रममै धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले सर्वोत्तम सिमेन्टको भित्री कारोबारमार्फत सेयर हासिल गरेको आरोपमा बर्खास्तीमा परे । सर्वोत्तमले यही विधिबाट सेयर जारी गर्न गत असारमा आवेदन दिइसकेको हो । यसबाहेक रिलायन्स स्पिनिङ मिल्सले पनि आवेदन दिइसकेको छ । तर, बोर्डले अहिलेसम्म निर्णय गरेको छैन ।

यो प्रक्रिया कहिले टुंगिन्छ, निश्चित छैन । संस्थागत लगानीकर्ताबाट स्वचालित तरिकाले बढाबढ गरी मूल्य तय गर्न नेप्सेले पनि अहिलेसम्म सफ्टवेयर विकास गर्न सकेको छैन । सफ्टवेयर बिना पनि बुक बिल्डिङ विधिबाट मूल्य तय गर्न सकिने भए पनि त्यो काम पनि धितोपत्र बोर्डको ढिलाइका कारण रोकिएको छ । आवेदकहरुलाई बोर्डले यो नयाँ अभ्यास भएकाले समय लाग्ने बताउने गरेको भए पनि कहिलेसम्म टुंगिन्छ कुनै जानकारी दिएको छैन । यसलाई विश्लेषकहरुले बोर्डको असक्षमताका रुपमा लिएका छन् ।

नेपाल स्टक एक्सचेन्जमा सूचीकृत संस्थामा १५ प्रतिशतको हाराहारीमा मात्रै उत्पादनमूलक क्षेत्रको हिस्सा छ । ८५ प्रतिशत बैंक, बिमा र व्यापारले ओगटेकाले वास्तविक क्षेत्रको हिस्सा बढाएर बजार विस्तार गर्ने योजना धितोपत्र बोर्डको सुस्तताका कारण रोकिएको छ ।


Image

सुदिल पोखरेल

पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।