सहकारी संस्थाका सञ्चालकको मनोमानी बढ्दा सर्वसाधारणको करिब २५ अर्ब रुपैयाँ डुब्यो

श्रावण २७, २०७९
सहकारी संस्थाका सञ्चालकको मनोमानी बढ्दा सर्वसाधारणको करिब २५ अर्ब रुपैयाँ डुब्यो

फितलो नियमनका कारण सहकारी संस्थाका सञ्चालकको मनोमानी बढ्दा सर्वसाधारणको करिब २५ अर्ब रुपैयाा डुबेको छ । केही सञ्चालक तथा ऋणीले नियतवस रकम नतिर्ने र सहकारी डुब्ने प्रवृति बढेपछि त्यसलाई रोक्न ऋण असुली न्यायाधीकरण गठनको व्यवस्था सहकारी ऐनमा गरियो । तर ऐन बनेको ५ वर्षपछि अहिले आएर सरकारले बल्ल न्यायाधीकरण गठन प्रक्रिया अघि बढाएको छ ।

सहकारीबाट ऋण लगेर नतिर्नेहरुबाट रकम उठाउन २०७४ सालको सहकारी ऐनमा छुट्टै सहकारीसम्बन्धी ऋण असुली न्यायाधीकरण गठन गर्ने व्यवस्था गरियो । राष्ट्र बैंकअन्तर्गतको  ऋण असुली न्यायाधीकरणले बैंक तथा वित्त संस्थाको मात्रै रकम उठाउने भएकाले सहकारीका लागि छुट्टै न्यायाधीकरणको व्यवस्था गरिएको हो । तर, पााच वर्षसम्म पनि यो व्यवस्था कार्यान्वयन गरिएन । अहिले बल्ल सहकारी विभागले आवश्यक कार्यविधि बनाएर स्वीकृति गर्न अर्थ मन्त्रालयमा पठाएको छ । 

सरकारले अहिलेसम्म ११ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरी ऋण लगेकाहरुबाट उठाउादै बचतकर्ताको पैसा फिर्ता गर्ने काम अघि बढाएको छ । त्यसका लागि समस्याग्रस्त व्यवस्थापन समिति भनेर सरकारले छुट्टै निकाय बनाएको छ । तर, ढिला गरेर गठन भएको यो निकायले ऋणीबाट रकम उठाउनु त कता हो कता धितो राखेको सम्पत्तिसम्म फेला पार्न सकेको छैन ।

सुधिर बस्नेतले सञ्चालन गरेको ओरेण्टल सहकारीका केही सञ्चालक र ऋणीले अन्य ४ वटा सहकारीबाट ऋण लिएर नतिर्दा तिनै सहकारी डुबे । ओरेण्टलबाट ऋण लगेका २१ सय ५१ जनाले ३ अर्ब ५५ करोड तिरेका छैनन् । त्यसैगरी समस्याग्रस्त घोषित अन्य ७ वटा संस्थाको १ अर्ब १५ करोड ऋणसमेत उठ्न सकेको छैन । ऋण असुली न्यायाधीकरण नभएकाले पनि सहकारीमा समस्या बढ्दै गएको हो । 

हाल मुलुकभर ३५ हजार २ सय ३९ सहकारी छन् । २०७० सालमा सहकारी संस्थाको छानबिन गर्न गठित आयोगले १ सय ५३ वटा सहकारीलाई सुशासनबाहिर रहेको निष्कर्ष निकालेको थियो । ऋण असुली न्यायाधीकरण गठन भएपछि समस्याग्रस्त हुनु अघि नै रकम उठाउन सजिलो हुने मात्र नभई ऋणीले समेत धितो नामासारी गर्न पाउने छैनन् । यसले बचतकर्ताको रकम डुब्नबाट बचाउनसमेत सहज हुने छ ।