'यो मान्छेले देश बनाउँदैन ।'
राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालको भनाइ हो यो । ढकालले इंगित गरेको मान्छे अरु कोही होइन, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हो । पार्टी स्थापना अघिदेखि नै विश्वास पात्र रहँदै आएका र पार्टीमा पनि महत्वपूर्ण ओहोदामा रहेका नेताले सभापति लामिछानेमाथि यस्तो टिप्पणी गर्नुपर्ने अवस्था किन आयो ? अलिक बृहत हिसाबमा हेर्दा वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक मध्येका एक नेता एवं महामन्त्री मुकुल ढकालको पार्टीभित्र अवनतिको अर्थ के हो ? सभापति लामिछाने माथि यत्रो आशंका र प्रश्नको बीजारोपण कसरी भयो, जसले वैकल्पिक राजनीतिलाई यति चाँडै विरोधाभासमा धकेल्यो ?
अहिले चर्चाको विषय बनेको छ, रास्वपाले महामन्त्री मुकुल ढकाललाई गरेको कारबाही । असार १९ गते बसेको केन्द्रीय समिति बैठकले ढकाललाई महामन्त्रीबाट ७ दिनका लागि निलम्बन गरिसकेको छ । उहाँले आफ्नो प्रतिवेदनमाथिको छलफल प्रत्यक्ष प्रसारण नगरेकोमा विरोध जनाउँदै केन्द्रीय समिति बैठकमा मुखमा कालोपट्टी टाँसेर गएपछि सभापति लामिछानेसहित अरु नेताहरु बिच्किनु सामान्य नै थियो । अन्ततः पार्टीले अभद्र, असोभनीय, अनुशासनहीन गतिविधि गरेको आरोप लगाउँदै ढकाललाई कारबाही गर्यो । अब ढकालमाथि थप कारबाही के-कस्तो होला त्यो रास्वपाकै जिम्मा भयो । तर, रास्वपाभित्र ढकाल फ्याक्टर के हो? किन पारियो ढकाललाई कोपभाजनमा ? यसले रास्वपाभित्रका के-कस्ता आयामलाई उजागर गरिरहेको छ त ?
अहिले पार्टी सभापति रवि लामिछानेप्रति आक्रोशित बनिरहेका मुकुल ढकाललाई रास्वपामा लामिछाने निकट नेताकै रुपमा लिइन्थ्यो । अवसर आउँदा पनि सांसद नबनेर संगठन मबजुत बनाउने भन्दै पार्टीको जिम्मा लिएर बसेको उहाँकै दाबी छ । अहिले आफू कारबाहीमा परेपछि भने ढकालले पार्टीभित्रका आन्तरिक कुरा पनि खोतल्न थाल्नु भएको छ, त्यो पनि सभापति रवि लामिछानेलाई निशाना बनाएर ।
महामन्त्रीको जिम्मेवारीमा रहँदा सभापति लामिछानेको आदेशमा आँखा चिम्लिएर धेरै गलत निर्णय गरेको उहाँले स्वीकार्नु भएको छ । कारबाहीमा परेपछि उहाँले सामाजिक सञ्जालमै लेख्नु भएको छ- '२ वर्षदेखि सभापतिको कुरालाई किन गलत भनिनस् भनेर सोधिन्छ । मलाई लाग्यो उहाँले देश बनाउनु हुन्छ, उहाँको कुरा मान्नुपर्छ । कति कुरा गलत लाग्दालाग्दै मानिदिएँ, केन्द्रीय समितिको बैठकमा केही कुरा पेलेरै लागू गरिदिएँ ।'
अहिले भने रवि लामिछानेलाई लिएर नेता ढकाललाई लागेको छ- अब यो मान्छेले देश बनाउँदैन । यो वादविवाद चलिरहला तर अहिलेको अवस्था हेर्ने हो भने, रास्वपाका सबै नेता एकातिर र निलम्बित महामन्त्री ढकाल एकातिर देखिएको छ । सबै नेताले खराबी जति ढकालकै देखेका छन् ।
सभापति लामिछानेसँग निकट रहेका ढकालको रास्वपामा कलहको सिलसिला भित्री रुपमा कहाँ, के नमिलेर शुरु भयो, बिस्तारै खुल्दै जाला वा गुपचुप नै रहन पनि सक्छ । किनकि, यसअघि समानुपातिक सांसदका लागि पार्टीको कोर टिमलाई रकम बुझाउनुपर्ने बताएका ढाकाकुमार श्रेष्ठमाथि कारबाही भयो तर त्यो कोर टिमबारे चाइँचुइँ कुरै निस्किएन । यो कलहको बाहिर देखिने टर्निङ पोइन्ट भने महामन्त्री ढकालले गरेको देश दौडाहा र त्यहाँबाट प्राप्त सुझावका आधारमा तयार पारेको समीक्षा प्रतिवेदनलाई नै मान्नुपर्ने हुन्छ ।
किनकि, यो प्रतिवेदनमाथि पार्टीमा छलफल हुनुअघि नै महामन्त्री ढकालले सञ्चार माध्यम मार्फत 'पार्टी सिकिस्त बिरामी भएको' दाबी गर्नु भएको थियो । उहाँको निचोड थियो, पार्टीलाई 'रवि लामिछानेको पार्टी नभई राष्ट्रिय स्वतन्त्र पार्टी नै बनाउनुपर्छ' । जसको बलमा पार्टी बन्यो उनै शक्तिशाली सभापतिमाथि यसरी औंला उठाएपछि ढकालको मनमा डर पैदा हुनु सामान्य हो । त्यसैले होला उहाँले प्रतिवेदनकै कारण आफूमाथि कारबाहीसम्म हुन सक्ने बताउनु भएको थियो ।
ढकालले भविष्यवाणी गरेजस्तै उहाँमाथि कारबाही भयो पनि । यद्यपि, यो कारबाहीलाई रास्वपाका बाँकी सबै नेताले पार्टीको आन्तरिक कुरा पार्टीमा छलफलै नगरी महामन्त्रीजस्तो व्यक्तिले बाहिर हल्ला गर्दै हिँड्नुको परिणामका रुपमा लिएका छन् । पार्टीको जीवनमा यस्ता घटना भइरहन्छन् । नेताहरुबीच गुट-उपगुट बनिरहन्छन्, भत्किरहन्छन् । खासगरी, पार्टी नेतृत्वको आलोचना गर्ने र फरक मत राख्नेहरु कोपभाजनमा परिरहन्छन् । यो नेपाली राजनीतिको एउटा विशेषता नै हो । नेकपा एमालेमा चलेको एउटा भनाइ नै छ नि- धेरै चुदुरबुदुर नगर्नु, नत्र बाले भीम रावल बनाइदिन्छन्' । अब नयाँ पार्टी रास्वपामा पनि एउटा भनाइ स्थापित हुने चरणमा देखियो- धेरै बकबक नगर्नु, नत्र मुकुल ढकाल बन्नु पर्ला ।
ढकालले ३८ जिल्ला घुमेर तयार पारेको समीक्षा प्रतिवेदन बाहिर आइसकेको छ । त्यो प्रतिवेदनले पार्टीका कमी-कमजोरी प्रसस्त देखाएको छ । उहाँको पुरक प्रतिवेदन पनि आइसकेको छ । यी प्रतिवेदनहरु पढेर तपाईंले पनि आफ्नो धारणा बनाउन सक्नु हुनेछ । प्रतिवेदनमा ढकालले व्यक्ति केन्द्रित गनथनसहित आफूले भेटेका जनताले पार्टीलाई कसरी लिएका छन् र त्यसको अर्थ के हो भन्ने पनि मजैसँग खुलाउनु भएको छ । तर, रास्वपा नेताहरु यो प्रतिवेदनलाई प्रतिवेदन नै मान्न तयार छैनन् ।
छोटो चर्चा गरौं रास्वपाको राजनीतिक यात्राको । किनभने, रास्वपाले आफूलाई कति लोकतान्त्रिक चरित्रका साथ उभ्यायो र पुराना दल र नेताभन्दा कति फरक रुपमा प्रस्तुत भयो भन्ने हिसाब-किताब खोजिनुपर्छ ।
ठूला दल र शीर्ष नेताबाट आजित र निराश जनताको वितृष्णा र भावना बटुलेर राष्ट्रिय राजनीतिमा उदाएको पार्टी हो, रास्वपा । २०७९ सालको निर्वाचनबाट २१ सांसदसहित देशको चौथो ठूलो राजनीतिक शक्ति बन्न सफल पार्टी हो, रास्वपा । यो छोटो अवधिमै दुई पटक सरकारमा पुगिसकेको दल हो, रास्वपा । सभापति रवि लामिछानेलाई दुई पटक गृहमन्त्री बनाइसकेको दल हो, रास्वपा । मूलतः नेपालको राजनीतिमा वैकल्पिक शक्तिका रुपमा रुचाइएको, हेरिएको र विश्वास गरिएको एउटा राजनीतिक शक्ति हो, रास्वपा । त्यसैले रास्वपाका हरेक गतिविधि र निर्णय जनताको चासो र चिन्ताको विषयभित्र परिरहन्छन् र पर्नु पनि पर्छ ।
पार्टीको महामन्त्रीजस्तो शक्तिशाली पदमा रहेका ढकालले पार्टीको लोकप्रियता विपरीत कुरा गर्न थालेपछि र सभापतिमाथि ठाडै प्रश्न उठाएपछि उहाँलाई कारबाही गरियो । यसलाई रास्वपाभित्र सभापति रवि लामिछानेको हैकमवादी चरित्रको एउटा संकेतका रुपमा बुझ्न सकिन्छ । यसको अर्को उदाहरण हो, रवि लामिछानेको नाम सहकारी ठगीमा जोडिएपछि रास्वपाका बाँकी सबै नेताले त्यसबारे एउटा प्रश्नसमेत गर्ने आँट नगर्नु । स्वार्थ बाझिने गृह मन्त्रालय नै रोज्ने उहाँको जिद्दिप्रति पार्टी पंक्ति चुपचाप बस्नु । हामीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल लगायतका पुराना पार्टीका शीर्ष नेता अधिनायकवादी बन्दै गएको बारम्बार देखिरहेकै छौं । अझ मिडियाकर्मीका रुपमा रवि लामिछानेले सयौं पटक यी नेताहरुप्रति प्रश्न उठाउनु भएकै थियो । उहाँले गृहमन्त्री भइरहँदा होस् वा रास्वपा चुनावमा होमिदै गर्दा नारा घन्काएकै हो- यी पुराना दल र नेताहरुले देश बर्बाद बनाए, बस्न लायक नै छोडेनन्, नैतिकता नै देखाएनन्, अब हामी बनाउँछौं देशलाई, हामी ल्याउँछौं सुशासन, हामी गर्छौं भ्रष्टाचारको अन्त्य ।
जनमत बटुल्दै गर्दा रास्वपाका सभापति लामिछानेले पुराना दलप्रति पोखेको यस्तो आक्रोश अहिले मत्थर हुँदै गएको छ । सायद सरकारबाट बाहिरिएपछि फेरि त्यो गर्जन देखिन सक्छ । त्यो हरेक दलका नेताले गरिरहेकै काम हो । तर, 'हामीले पाएको मत प्रतिपक्षमा बसेर जनताका मुद्दा उठाउनका लागि हो' भन्ने रास्वपा आज सत्ताको दलदलमै फस्न र यिनै पुराना नेताहरुको गोटी बन्ने अवस्थामा कसरी आइपुग्यो त ? सत्ता समीकरण फेरिइसक्यो, अब सरकारबाट बाहिरिनु बाहेकको विकल्प छैन, तर रास्वपाका मन्त्रीहरु राजीनामा दिन समेत आनाकानी गर्नुपर्ने अवस्था किन आयो ? कसका कारणले आयो ? आज कारबाहीमा परेका महामन्त्री मुकुल ढकालका कारणले हो त ? वैकल्पिक राजनीतिप्रति विश्वास गरेर रास्वपालाई दिलोज्यान दिएर सघाउने समर्थक र मतदाताले यी प्रश्न सोध्ने कि नसोध्ने ? तेरो फलानो नेता चाहिँ सही छ, फलानो पार्टी चाहिँ चोखो छ र? भन्दै अरु पार्टी र नेताहरुतिर धारेहात लगाएर रास्वपा नयाँ हुनुको औचित्य पुष्टि हुन्छ त ?
नयाँ पार्टी बन्दै गर्दा विभिन्न पेशा-व्यवसाय र अन्य पार्टीमा रहेका व्यक्तिहरु जोडिँदै जानु सामान्य प्रक्रिया हो । त्यसरी नयाँ पार्टीमा जोडिन पुग्नेहरु कोही साँच्चै परिवर्तनको हुटहुटी बोकेर गएका हुन्छन् त कोही अवसरको खोजीमा लागेका हुन्छन् । इमान्दार कोसिसबाट रुपान्तरणको बाटोमा अघि बढ्न रास्वपाका केही नेताको पहल सकारात्मक पनि छ । विभिन्न शैली र स्वार्थ बोकेका नेता-कार्यकर्तालाई जोड्ने र पार्टीप्रति लामबद्ध गर्ने काम पार्टीको विधान, सिद्धान्त, विचार र आन्तरिक लोकतन्त्रले निर्देशित गर्नुपर्ने हुन्छ । तर, रास्वपाले यो दुई वर्षमा न त आफ्नो सैद्धान्तिक कित्ता छुट्याएको छ, न वैचारिक दृष्टि नै दिन सकेको छ ।
रास्वपाका नेताहरुले भन्ने गरेका छन्, जलेश्वर बैठकमा सभापति रवि लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन नै रास्वपाको मूल दस्तावेज हो, मार्गचित्र हो । तर, त्यो दस्तावेजमा न कुनै ठोस विचार छ, न त कुनै मार्गचित्र नै । सभापति लामिछानेले सधैंजसो जस्तो भाषण गर्नुहुन्छ, त्यसैलाई अक्षरमा उतारेजस्तो मात्र लाग्छ । रास्वपालाई यहाँ एउटा शंकाको सुविधा दिन सकिन्छ कि, नयाँ पार्टी हो बिस्तारै सबै तारतम्य मिलाउँदै जानेछ भनेर ।
तर, पार्टी सभापति र दुई पटकका गृहमन्त्री रवि लामिछानेले जब, ट्राफिक नियम उलंघन गर्नेलाई सडकमा खटाउने ठाडो आदेश सामाजिक सञ्जालबाट दिनुभयो र त्यो अदालतले नरोक्दासम्म लागू भयो, त्यसबाट बुझ्न सकिन्छ कि, उहाँहरु अझै आलोकाँचो निर्णयबाटै देश चल्छ भन्ने मनोदशाबाट बाहिर निस्कनु भएको छैन । अहिले महामन्त्री ढकाल कारबाहीमै परे पनि उहाँले भनेजस्तो रास्वपाले आफूलाई एउटा परिपक्व पार्टीका रुपमा अघि बढाउन आफूभित्रै क्रूर समीक्षा गर्नैपर्ने बेला आएको छ । होइन भने, ढुक्क हुनुहोस्, रास्वपा यस्तै हचुवाका भरमा अघि बढ्ने हो भने, देशको त के कुरा, पार्टी पनि चल्दैन ।