श्रीश भण्डारीको किशोर-उपन्यास ‘अकथित’ बजारमा

कार्तिक १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
श्रीश भण्डारीको किशोर-उपन्यास ‘अकथित’ बजारमा

काठमाडौं । लेखक/पत्रकार श्रीश भण्डारीको किशोर-उपन्यास ‘अकथित’ शुक्रबारदेखि बजारमा आएको छ ।

यो उपन्यास पछिल्लो समय बालबालिका र किशोरकिशोरीबीच बढ्दो परपीडक प्रवृत्तिका रूपमा देखा परेको बुलिङ्को विषयवस्तुमा आधारित छ । आफ्नै साथी, साना वा कमजोरलाई शारीरिक तथा मानसिक पीडा पुर्याएर त्यसबाटै आफू आनन्दित हुने प्रवृत्तिका कारण किशोर किशोरीको व्यक्तित्व विकासमा आउन सक्ने अड्चन र उनीहरूले सामना गर्नुपर्ने कठिनाइलाई उपन्यासमा सशक्त कथानकमार्फत् उजागर गरिएको छ ।

उपन्यासको मुख्य पात्र सार्थकको लजालु स्वभाव र कमजोर आत्मबलको फाइदा उठाएर उसलाई विराज र उसका केही बदमास साथीहरूको समूहले हदैसम्मको बलमिच्याई (बुलिङ) गरेको छ । यस्तो बलमिच्याईबारे जानकार भएर पनि कक्षाका साथीहरू त्यसको प्रतिकार गर्न सकिरहेका छैनन् । किताबी पढाइमा मात्रै केन्द्रित शिक्षक र अभिभावको पनि यसतर्फ बिल्कुलै ध्यान पुग्न सकिरहेको छैन ।

“हाम्रा विद्यालयका कक्षा कोठाहरूमा विद्यमान यस्ता सुसुप्त तर गम्भीर समस्याका कारण भोलिका दिनमा वयष्क भैसकेपछि पनि ती विद्यार्थीको जीवन समस्याग्रस्त नहोला भन्न सकिन्न,” लेखकलाई उद्धृत गर्दै प्रकाशक संस्था इटर्नल पब्लिकेसनले भनेको छ, “अहिलेको अवस्थाले सार्थकजस्ता पीडित विभिन्न मनोसामाजिक समस्या र डिप्रेसनका कारण पुनस्र्थापना गृहमा पुग्न सक्छन् भने विराजस्ता पीडक स्वेच्छाचारी, उदण्ड र आपराधिक हर्कतहरूका कारण कारागारको बाटोतर्फ उन्मुख हुनेछन् । निकट भविश्यका यी दुःखद संभावनालाई अहिल्यै बुझेर सकारात्मक हस्तक्षेप गर्नमा हामीले जति प्रभावकारी कदम चाल्न सक्छौं, हाम्रो समाज त्यति नै स्वस्थ्य र सुरक्षित हुनेछ । अकथित उपन्यास एउटा लेखकले आफ्नो तर्फबाट गर्न सक्ने यस्तै सकारात्मक हस्तक्षेपको जिम्मेवारीपूर्ण प्रयत्न हो ।”

प्रविधि प्रयोगमा आएको व्यापकतासँगै पछिल्लो समय सामाजिक सञ्जालमार्फत् अनावश्यक सन्देश पठाउने, अश्लील शब्द, तस्बिर वा भिडियो पठाउने वा त्यस्तै भाषा प्रयोग गरेर दुःख दिने हर्कत बढ्दै गएका छन् । साइवर बुलिङ अन्तर्गत पर्ने यस्ता क्रियाकलापहरूबाट बालबालिका र किशोर किशोरी पनि उत्तिकै पीडित छन् । ‘अकथित’ उपन्यासमा साइबर बुलिङ्को यो पक्षलाई पनि समेटिएको छ ।

“श्रीश भण्डारीज्यूको यो उपन्यास विद्यालय उमेरका किशोरकिशोरीका साथै शिक्षक र अभिभावकका निम्तिसमेत उत्तिकै पठनीय छ,” किताबको भूमिकामा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल मानसिक स्वास्थ्य विभागका प्रमुख प्राध्यापक डा. सरोजप्रसाद ओझानथाक्षेँले लेखेका छन्, “यसलाई धेरै भन्दा धेरै बिद्यार्थीबीच पुर्याउनमा तीनै तहका सरकारी निकायहरू, सामुदायिक तथा संस्थागत विद्यालयहरू, मनोसामाजिक क्षेत्रमा कार्यरत संघसंस्था र अन्य सबै सरोकारवालाले आ–आफ्नो तर्फबाट सक्दो भूमिका निर्वाह गर्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।”

उत्प्रेरणात्मक पुस्तक ‘अठोट’का लेखक श्रीश भण्डारीको यो चौथो पुस्तक हो । इटर्नल पब्लिकेसनले प्रकाशन गरेको यो किताबको मूल्य २७५ रुपैयाँ रहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.