कर्णाली नदीमा आएको बाढीले बर्दियामा झण्डै सय घर डुबानमा

भाद्र २८, २०८१ |कमल पन्थी
कर्णाली नदीमा आएको बाढीले बर्दियामा झण्डै सय घर डुबानमा

बर्दिया । तीन दिनदेखि लगातार परेको अविरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बर्दियामा झण्डै सय घर डुबानमा परेका छन् । राजापुर नगरपालिका-१ दौलतपुर र चनोरामा सबै भन्दाबढी बाढीबाट प्रभावित भएका छन् । बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका-५ बालापुरका दर्जन बढी घर डुबाएको छ ।

कर्णाली नदी कटानसँगै बाढीले राजापुर नगरपालिका-५ दौलतपुर र चनौरा गाउा डुबानमा परेका छन् । यहाँका ८४ घर परिवार विस्थापित भई सुरक्षित स्थलमा आश्रय लिएका छन् । पीडितहरुले सामान सुरक्षित पनि गर्न नपाई भेल घरमा पसेपछि ज्यान बचाएर सुरक्षित स्थलमा पुगेका छन् ।

कर्णाली नदीमा यस वर्षकै सबै भन्दा ठूलो बाढी आएको हो । आज दिउँसो जलस्तर ११ दशमलव ३ मिटर पुगेको थियो । ११ मिटर पुग्नसाथ बाढी गाउँ पस्ने गर्छ । बाढीबाट प्रभावितलाई राजापुर नगरपालिकाले तत्काल पिउने पानी र त्रिपालको व्यवस्था गरेको छ । स्थानीय प्रशासनले भने बाढी प्रभावितको सामान सुरक्षित गर्ने काम गरिरहेको छ ।

बाढीले खेत त डुबानमा पारेको छ नै घरमा वर्षभरी भेन जोहो गरि राखेको खाद्यान्नसमेत डुबाएको छ ।


Image

कमल पन्थी

पन्थी कान्तिपुर टीभीका बर्दिया संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement