वीरगञ्ज । केरा र खुवा उत्पादनमा राम्रो पहिचान बनाएको बाराको निजगढ यतिबेला गलैंचा उत्पादनमा पनि आफ्नो पहिचान स्थापित गर्न अग्रसर छ । स्थानीयको रोजगारी र आयआर्जनको राम्रो माध्यम बनेको गलैंचा व्यवसायमा झण्डै साढे तीन सय घरधुरी परिवार आवद्ध छन् ।
बारा निजगढ नगरपालिका १३ रतनपुरकी महिला धनमाया थिङ अहिले घरमै रोजगार बन्नुभएको छ । गलैँचा बुन्ने काम घरमै भित्रिएपछि उहाँले उद्यमसँगै आयआर्जन गरिरहनुभएको हो । सीप र रोजगारी नहुँदा पहिले घरको कामकाज सकेपछि फुर्सदिलो बस्नेगरेकी उहाँलाई घर खर्च चलाउनै गाह्रो हुन्थ्यो । गलैाचा बुन्ने सीप सिकेर उद्यमी बनेकी उहाँ अचेल मासिक २० हजार रुपैयाँसम्म कमाइ गर्न सफल हुनुभएको छ । निजगढ १३ कै नन्दुमाया वाइबा पनि यतिबेला घरमै गलैँचा बुन्नुहुन्छ । दैनिक ८ घण्टा काम गर्ने हो भने महिनामा एउटा तान झार्न सकिने बताउने नन्दुमाया पनि घरको कामकाज भ्याएर महिनाको १८ देखि २० हजार रुपैँयासम्म कमाउनुहुन्छ ।
निजगढमा झण्डै साढे तीन सय घरधुरी गलैँचा उत्पादन उद्यममा आवद्ध छन् । निजगढकै विष्णुगोपाल रिसालले गलैँचा बुन्ने सीप र प्रविधि यहाँ भित्र्याउनुभएको हो । स्थानीयलाई गलैँचा उत्पादन गर्ने तालिम दिएका सिरालले आफ्नै लगानीमा गलैँचा उत्पादन गर्ने प्रविधि घरघरमा पुर्याएर स्थानीयलाई उत्पादनसँग जोड्नुभएको छ । साइज र डिजाइनअनुसारको गलैँचा उत्पादनका लागि धागोसमेत आफैले उपलब्ध गराउने रिसालले उत्पादित गलैँचा काठमाडौंका निर्यातकर्ताको सो रुममा पठाउनुहुन्छ । यसबाट निजगढमा वार्षीक १५ देखि २० करोड रुपैयाँ भित्रिन्छ ।
आफ्नै गाउँमा गलैँचा बुन्ने वातावरण बनेपछि काठमाडौं गलैँचा उद्योेगमा काम गर्ने स्थानीयहरु अहिले गाउँ फर्केर यो काममा छन् ।
गलैँचा बुन्ने काममा लाग्ने अधिकांश आदिवासी जनजाति समुदायका छन् । सीप र रोजगारी नहुादा थोरै आम्दानीका लागि विदेशिन बाध्य यहाँका स्थानीयलाई गलैँचा उद्यमले गाउँमै रोजगार बन्ने अवसर दिएको छ । तर सरकारी सहयोग नपाउँदा मन अमिलो भएको उद्यमशीलता प्रवर्द्धनमा लागेकाहरुको गुनासो छ ।
सरकारले चालु आर्थिक वर्षको बजेटमा निजगढदेखि ढल्केबरसम्मको क्षेत्रलाई गलैँचा करिडोरको रुपमा प्रबर्द्धन गर्ने घोषणा गरेको छ । तर निजी क्षेत्रको सहयोगमा गलैँचा उत्पादन गर्ने उद्यममा लागेकाहरुलाई सरकारको कुनै सहयोग प्राप्त भएको देखिदैन ।