सैलुन व्यवसायमा रमाएका पोखराका युवा

भाद्र ९, २०८१ |इन्द्र पौडेल
सैलुन व्यवसायमा रमाएका पोखराका युवा

पोखरा । रोजगारी र शिक्षाको नाममा नेपालबाट विदेशिने युवा जमात बढ्दो छ । युवा विदेशिने क्रम बढिरहँदा पोखराका केही युवा भने सीप सिकेर आत्मनिर्भर बनेका छन् । कपाल र दारी काट्ने काम निश्चित समुदायको मात्रै हो भन्ने मानसिकता राख्ने युवाले अहिले कपाल काट्न सिकेर व्यवसाय थालेका मात्रै छैनन् राम्रो आम्दानी गरेर देशमै आयआर्जनको उपाय छ है भन्ने उदाहरण बनेका छन् ।

पोखराको यो सैलुनमा पुग्नुभयो भने तपाई सुरज राईलाई ग्राहकको कपाल काट्दै गरेको, फेसियल गर्दै गरेको वा कपाल रङ्ग्याउदै गरिरहेको भेट्नु्हुनेछ । रोजगारी नपाएर भौतारिइरहेका बेला सुरजलाई कसैले सीप सिकेर सैलुन व्यवसाय थालेमा राम्रो आम्दानी हुने कुरा सुझायो । तर उहाँलाई संकोच लाग्यो । केही सयम रोजगारीका लागि चाहारेपछि उहाँले संकोच त्याग्नुभयो र सैलुनसम्बन्धी सीप सिकेर आफै सैलुन खोली काममा व्यस्त बन्नुभयो । थोरै लगानीले राम्रो आम्दानी गर्न सकिने भएकाले युवाको रोजाइमा यो पेशा पर्न थालेको छ । पोखरामा कपाल काटेको २ सय ५० रुपैयाँसम्म तिर्नुपर्छ । अन्य सुविधा लिन चाहे थप रकम तिर्नुपर्छ ।

पोखरामा २ सयभन्दा बढी सैलुन छन् । तीमध्ये दुई दर्जनभन्दा बढी सैलुनका मालिक पढेलेखेका र देशमै केही गर्छु भन्ने विश्वास र आाटका साथ लागेका युवा हुन् । उनीहरु आफूमात्रै स्वरोजगार बनेका छैनन् अरु धेरैलाई रोजगारी पनि दिएका छन् ।

आधुनिक उपकरण र दक्ष जनशक्ति भएकाले ग्राहकको रोजाइमा युवाहरुद्वारा सञ्चालित सैलुन पर्ने गर्दछन् । एक पटक आएका ग्राहक दोहोर्याएर आउने गर्दछन् ।

विगतमा कपाल काट्ने पेशाप्रति युवाको आकर्षण थिएन तर पछिल्लो समय बढेको यो पेशाप्रतिको आकर्षण र युवाहरुको लगावले स्वेदेशमै केही गर्छु र जीवनस्तर उकास्छु भन्नेहरुका लागि समेत प्रेरणा मिलेको छ ।


Image

इन्द्र पौडेल

पोखरामा कार्यरत पौडेल कान्तिपुर टेलिभिजनका क्यामेरा पर्सन हुन् ।


Enter Kantipur TV HD
Advertisement