पहिरोले बेलिब्रिज बगाउँदा तातोपानी भन्सार नाका ठप्प

श्रावण ५, २०८१ |कमला पाख्रिन
पहिरोले बेलिब्रिज बगाउँदा तातोपानी भन्सार नाका ठप्प

सिन्धुपाल्चोक । तातोपानी भन्सार नाकाबाट सामान आयात रोकिएको छ । अबिरल वर्षापछि पहिरो आउँदा ठाउँ-ठाउँमा सडक भासिनुका साथै बाह्रबिसेको खाग्दालस्थित बेलिब्रिज ठाडो खोलाले बगाएपछि गत सोमबारदेखि सामान आयात रोकिएको हो ।

ढुङ्गासहितको बाढी र पहिरोले कोदारी राजमार्ग अवरुद्ध पारिदिएपछि अहिले चीनबाट सामान लिएर आएका कन्टेनरहरू भन्सार परिसर र बाटोमै अलपत्र छन् । नेपालतर्फको बाटो बिग्रिएका कारण सामान ढुवानी गरेका धेरै कन्टेनर सीमा पारी नै रोकिँदा व्यापारी मारमा परेका छन् । सोमबारदेखि बाटो अवरुद्ध हुँदा फलफुल र तरकारी कुहिने भएकाले व्यवसायी चिन्तित छन् ।

झन्डै ६० वटा कन्टेनर सामान लोड गरेर राजधानी जानका लागि भन्सारमा जाँचपास भएर बसेको भन्सार कार्यालयले जनाएको छ । सीमापारी चिनियाँ क्षेत्रमा पनि कपडा, जुत्ताचप्पल, खाद्यान्न, विद्युतीय उपकरण लगायतका सामग्री ल्याएर आएका कन्टेनर तथा ट्रकहरु अलपत्र छन् । त्यस्तै चीनतर्फ समान लिन जान लागेका कन्टेनर र ट्रक पनि बाटोमै अलपत्र छन् । 

गत वर्षदेखि तातोपानी नाकामा व्यापाकि चहलपहल र कारोबार ह्वात्तै बढेको छ । नाकाबाट क्रमशः व्यापार बढिरहेका बेला सडक अवरुद्ध हुँदा यसको सबैभन्दा बढी असर तातोपानी भन्सारको राजश्व असुलीमा परेको छ ।

तातोपानी हुँदै चीनतर्फ आउने जाने मालवाहक सवारी साधनका लागि खाग्दलमा फेरि बेलिब्रिज नहाल्दासम्म तातोपानी भन्सारका कन्टेनर राजधानी आउने अर्को वैकल्पिक बाटो छैन । सोमबारदेखि सडक मर्मतका लागि सडक विभाग र सिल्क ग्रुपसँग समन्वयमा खाग्दालमा ह्याम पाइप राखेर तत्कालका लागि सडक खुलाउने प्रयास भइरहेको छ । 


Image

कमला पाख्रिन

पाख्रिन कान्तिपुर टीभीका लागि सिन्धुपाल्चोक संवाददाता हुन् ।