आमा र बच्चाको भरोसा बनेकी स्वास्थ्य स्वयंसेविका सुन्दरीदेवी

फाल्गुन २५, २०८० |वरुण पनेरू
आमा र बच्चाको भरोसा बनेकी स्वास्थ्य स्वयंसेविका सुन्दरीदेवी

डडेलधुरा । महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्य क्षेत्रका मेरुदण्ड हुन् । उनीहरूले समुदायलाई स्वास्थ्य प्रणालीमा जोड्ने पुलको काम गरिरहेका छन् । अझ यिनीहरुको भूमिका दुर्गम ठाउामा उल्लेखनीय छ- जहाँका नागरिकको पहुँच दक्ष चिकित्सकसँग हुँदैन । यस्तै स्वयम्सेविका मध्येकी डडेलधुराकी सुन्दरीदेवी भट्ट एक हुन् ।

डडेलधुराको अमरगढी नगरपालिका-१० की सुन्दरीदेवी हरेक १५/१५ दिनमा गाउँमा सबै महिलालाई भेला गरेर महिला र बालबालिकाका स्वास्थ्यका बारेमा छलफल गराउँछिन् । उनले गाउँका आमा तथा बालवालिकाको स्वास्थ्यका क्षेत्रमा निःशुल्क सेवा गर्न थालेको १०वर्ष भयो । कसरी स्वच्छ शिशु जन्माउने, आमा र बच्चा दुबैको ज्यान कसरी सुरक्षित राख्ने भन्ने बारेमा उनको ध्यान सधैं केन्द्रित हुन्छ

२०६९ सालदेखि अहिलेसम्म निःस्वार्थ भावले उनी गाउँमा महिला बालबालिका तथा समग्र मानिसको स्वास्थ्य स्वस्थ राख्ने काममै तल्लीन छिन् । बच्चामा सामान्य पोषणको अवस्था समेत ख्याल नगर्ने स्थानीयलाई सुन्दरी देवी घरघर पुगी कुपोषण मुक्त बनाउने अभियान चलाइरहेकी छिन् ।

अमरगढी नगरपालिका स्तरीय स्वास्थ्य स्वयंसेविका सञ्जालकी अध्यक्षसमेत रहेकी सुन्दरी देवी भट्टकै पहलमा वडा नं. १० नेपालकै पहिलो पोषणमैत्री वडा समेत घोषणा भएको छ । गाउँका महिला गर्भवती भए त्यसबारे तथ्यांक राख्ने देखि तोकिएको समयमा गर्भ परीक्षण गर्न स्वास्थ्य संस्थामा पठाउने काम पनि उनले गर्दै आएकी छन् । ग्रामीण क्षेत्रमा सञ्चालन गरिने हरेक खोप अभियानमा उनी अग्रपंक्तिमा रहेर काम गर्छिन् ।

सुन्दरीदेवीले जागरण अभियान थाले पछि गाउँमा झाडापखाला, दादुरा, कुपोषण, निमोनिया जस्ता रोगका कारणले बालबालिकाको ज्यान जाने घटनामा कमी आएको छ । सामान्य भन्दा सामान्य रोगको उपचार नपाएर दीर्घ रोगी बनेर बस्न र ज्यानै गुमाउन बाध्य समुदायमा सुन्दरीदेवी र उनी जस्तै स्वयम्सेविकाका कामले जागरण ल्याएको छ ।

एक हजार दिनसम्म बच्चा र आमाको स्वास्थ्य अवस्थाको नियमित निगरानी र तथ्यांक राख्ने पहिलो काम सुन्दरी देवी जस्तै स्वास्थ्य स्वयंसेविकाको हुन्छ । रातदिन नभनी आफ्नो काममा खटिएका स्वयंसेविकालाई सरकारले दैनिक जिविकोपार्जन गर्ने उचित पारिश्रमिकको भने व्यवस्था गर्न सकेको छैन ।


Image

वरुण पनेरू

पनेरू कान्तिपुर टेलिभिजनका डडेल्धुरा संवाददाता हुन् ।