भूकम्प प्रभावित टर्कीलाई नेपालले पनि सहयोग

माघ २५, २०७९ |सुबिन्द्र श्रेष्ठ
भूकम्प प्रभावित टर्कीलाई नेपालले पनि सहयोग

काठमाडौं । सरकारले भूकम्पप्रभावित टर्कीलाई अत्यावश्यक सामग्री सहयोग गर्ने भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (बुधबार) बसेको राष्ट्रिय विपत् व्यवस्थापन प्राधिकरणको दशौं बैठकले टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने निर्णय गरेको हो । राहत सामग्री प्राधिकरणसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले पठाउनेछ ।

टर्कीलाई तत्काल आवश्यक न्यानो लुगा, औषधि, जेनेरेटरलगायत सामग्री नियमित उडानका दुई जहाजमार्फत पठाउने तयारी भइरहेको परराष्ट्रले जनाएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव हुने सबै सहयोग गर्नुपर्ने बताए । बैठकले आवश्यक तयारी गरेर ती सामग्री छिटोभन्दा छिटो पठाउने निर्णय गरेको छ ।

टर्की केन्द्रविन्दु भएर सोमबार गएको विनाशकारी भूकम्पका कारण ठूलो जनधनको क्षति भएको छ । ११ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने हजारौं घाइते छन् । टर्कीमा भूकम्प प्रभावित नेपालीको खोजी र सम्पर्कको प्रयास जारी छ । अहिलेसम्म १४ विद्यार्थी, चारजना घरेलु कामदारसहित २३ नेपाली सम्पर्कमा आएका छन् । 


Image

सुबिन्द्र श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टीभीका संवाददाता हुन् ।