लुम्बिनी युनेस्कोको खतराको सूचीमा पर्नबाट तत्कालका लागि जोगियो

कमी-कमजोरी सुधारका लागि समय दिन वर्ल्ड हेरिटेज कमिटीका १९ मुलुक सहमत
श्रावण ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
लुम्बिनी युनेस्कोको खतराको सूचीमा पर्नबाट तत्कालका लागि जोगियो

लुम्बिनी । विश्व सम्पदा स्थल लुम्बिनी युनेस्कोको खतराको सूचीमा पर्नबाट तत्कालका लागि जोगिएको छ । 

नयाँदिल्लीमा आयोजित युनेस्को वर्ल्ड हेरिटेज कमिटीको ४६ औँ सेसनमा भारतले लुम्बिनीका विषयमा भएका कमी-कमजोरी सुधार गर्न समय दिनुपर्ने भन्दै संशोधन प्रस्ताव दर्ता गरेपछि लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव हालका लागि टरेको हो । 

कमी–कमजोरी सुधार गर्न समय दिनुपर्ने भन्दै भारतले राखेको संशोधनमा युनेस्को ‘वर्ल्ड हेरिटेज कमिटी’ का २१ मुलुकमध्ये १९ को समर्थन रहेको छ । लेबनान र बेल्जियम भने भारतको संशोधन प्रस्तावको विपक्षमा उभिएका थिए। युनेस्को वर्ल्ड हेरिटेज कमिटीको सेसनमा लुम्बिनीलाई खतराको सूचीमा राख्ने वा नराख्ने भन्ने विषयमा बुधबार र बिहीबार छलफल भएको थियो । 

नेपालका तर्फबाट युनेस्को प्रतिनिधि एवं फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराईले २०२२ मा लुम्बिनी आएको ‘रिएक्टिभ मनिटरिङ मिसन’ र ‘आईएससी मिटिङ’ का सुझाव तथा युनेस्कोका निर्देशन पालना गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । 

बुद्ध जन्मस्थल लुम्बिनीमा सम्पदा संरक्षणविपरीतका गतिविधि बढेर गएपछि युनेस्कोको वर्ल्ड हेरिटेज कमिटी सचिवालयले लुम्बिनीलाई खतराको सूचीमा राख्ने मस्यौदा तयार गरिएको निर्णय एक महिनाअघि सार्वजनिक गरेको थियो । 

लुम्बिनीमा सम्पदा प्रभाव मूल्यांकन (एचआईए) नगरीकनै धेरै काम गरिएको र युनेस्कोका सुझाव कार्यान्वयन नगरिएको भनेर युनेस्कोले प्रश्न उठाएको थियो। त्यस्तै जथाभाबी विकास निर्माणका काम गरिएको र पुरातात्त्विक भग्नावशेषलाई संरक्षण नगरिएको भनेर युनेस्कोले प्रश्न उठाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.