दशैँको दिन खुल्यो लुक्लाको मौसम, एकै दिन ३२ वटा उडानमा साढे ६ सय पर्यटक भित्रिए

आश्विन २६, २०८१ |कान्तिपुर टीभी संवाददाता
दशैँको दिन खुल्यो लुक्लाको मौसम, एकै दिन ३२ वटा उडानमा साढे ६ सय पर्यटक भित्रिए

काठमाडौं । तीन दिन देखि उडान हुन नसकेको तेन्जिङहिलारी विमानस्थल लुक्लामा दशैँको टिकाको दिन शनिबार भने ३२ वटा विमानले उडान भरेका छन् । मौसममा सुधार आएसँगै शनिबार बिहान ६ बजे बाटै विमानहरुले उडान भर्न शुरु गरेका थिए ।

आज तारा एयरको १० वटा, समिट एयरको १३ वटा र सिता एयरको १० वटा उडान भएको लुक्ला विमानस्थल प्रमुख उमेश पन्थिले जानकारी दिनुभयो । त्यस्तै अपरान्ह साढे ४ सम्म जम्मा ६१ वटा हेलिकप्टरले विदेशी पर्यटक लुक्ला ल्याएको प्रमुख पन्थिले बताउनु भयो । आज मध्यान्ह साढे १२ बजे देखि भने मौसम प्रतिकुल भएर हेलिकप्टर बाहेकका अन्य जाहाँजहरुले भने उडान गर्न सकेनन् । दिउँसो देखिनै मौसम बिग्रिएकाले उडान अनुमति दिन नसकिएको विमानस्थलले जनाएको छ ।

आज विमान र हेलिकप्टरहरुबाट साँढे ६ सय विदेशी पर्यटक खुम्बु क्षेत्र भित्रिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनु भयो । हिमाल हेर्न र पदयात्राका लागि उपयुक्त मौसम मानिने अटम सिजन अर्थात शरदऋतुको मध्य समयमा औषत दैनिक १ सय ५० वटा उडानहरु हुने गर्दथे । मौसम प्रतिकुल भएकै कारण विगत ३ दिन देखि उडान प्रभावित भएका थिए ।

लुक्लामा रामेछापको मन्थलीबाट ९० प्रतिशत र बाँकी १० प्रतिशत त्रिभुवन विमानस्थल काठमाडौंबाट सिधै उडान हुने गरेको छ । शनिबार भने १ सय १० जना नेपाली पनि विमान मार्फत खुम्बु क्षेत्रको भ्रमण गर्न लुक्ला पुगेका छन् । मनसुन बाहिरिएसँग आइतबारबाट मौसम खुल्ने आशा खुम्बुका पर्यटन ब्यवसायीमा छ ।

पर्यटकले होटलहरु खचाखच भरिने सिजनमा मौसमकै कारण जाहाज आउन नसक्दा ब्यवसायीहरु निराश भएका थिए । आज ३२ वटा भन्दा बढी जाहाज आएपछि आफुहरुमा आशा पलाएको नाम्चेका पर्यटन ब्यवसायी छिमिकाल्देन शेर्पाले बताउनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.