गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन निजी क्षेत्रको सक्रियता आवश्यक

जेष्ठ १८, २०८१ |कान्तिपुर टीभी संवाददाता
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलाउन निजी क्षेत्रको सक्रियता आवश्यक

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि निजी क्षेत्रको सक्रियता आवश्यक रहेको बताउनुभएको छ ।

राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै महानिर्देशक अधिकारीले अहिले नै विमानस्थल चलेन भनेर आत्तिनुपर्ने अवस्था नभएको जनाउनु भयो । उहाँले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आवश्यक सबै सरकारी निकायहरुका शाखा बिस्तार भइसकेको पनि जनाउनु भयो । 

अधिकारीले भन्नु भयो, 'अन्तर्राष्ट्रिय उडानका लागि आवश्यक सरकारी सबै कार्यालयहरु श्रम, भिसा, बैंकहरुसमेत पुगेको छ । तर निजी क्षेत्रले चासो नदिँदा विमानस्थल चल्न कठिन भइरहेको छ ।' महानिर्देशक अधिकारीले विमानस्थल सञ्चालनका लागि सरकारी निकायहरुको काम भन्दा ठूलो क्षेत्र निजी क्षेत्र रहेको र वैदेशिक उडानका लागि म्यानपावर, तालिम केन्द्र, भाषा कक्षाहरु, बीमा, होटल लगायत निजी क्षेत्रले व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । 

नागरिक उड्डयन प्राधिकरणलाई ऐनले दिएको जिम्मेवारी मर्मत, सञ्चालन र अप्रेसनका कुराहरु सबै पूरा भएको उहाँको भनाइ छ । नेपाली जहाजकै संख्या कम भएकाले पनि विमानस्थल सञ्चालनमा कठिनाइ भएको उहाँको भनाइ छ । 'विमानस्थलहरु सञ्चालनका लागि निजी क्षेत्रको लगानी आवश्यक छ । जहाजहरु थप्नुपर्ने अवस्था छ । निजी क्षेत्रले जहाज थप्नका लागि सरकारको नीति हेर्नुपर्ने हुनसक्छ ।' उहाँले सरकारले जहाज खरिद गर्नेहरुलाई छुट दिन आवश्यक रहेको बताउनु भयो ।

महानिर्देशक अधिकारीले सरकारले श्रमका उडानहरु सबै भैरहवाबाट गर्ने निर्णय गर्नसके पनि विमानस्थल चल्ने बताउनु भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्रोथ ९० लाख पुग्न थालेकाले आगामी एक वर्षदेखि धान्नसक्ने अवस्था नहुने जनाउँदै त्यसपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल थप चलायमान हुने जनाउनु भयो । अधिकारीले भन्नु भयो, 'त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्तिका लागि आगामी कात्तिक २३ गतेदेखि चैत १८ गतेसम्म करिब पाँच महिना बेलुका १० बजेदेखि ८ बजेसम्म बन्द हुँदैछ । त्यो बेला विकल्प विमानस्थल गौतमबुद्ध बन्न सक्छ ।'


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.