७१औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

जेष्ठ १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
७१औं अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । विभिन्न कार्यक्रमसहित आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । हरेक वर्ष मे २९ मा सगरमाथा दिवस मनाउने गरिन्छ ।

सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेकिएको दिनको अवसरमा यो दिवस मनाइन्छ । सन् १९५३ मे २९ मा नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एड्मन्ड हिलारीले पहिलो पटक सगरमाथामा पाइला टेकेका थिए । सगरमाथाको चुचुरोमा मानव पाइला टेकिएको आज ७१ वर्ष पुगेको छ । 

हालसम्म ८ हजारभन्दा बढीले सगरमाथाको आरोहण गरिसकेका छन् । यसै वर्ष नेपाली आरोही कामीरिता शेर्पाले ३० पटक सगरमाथाको आरोहण गरेर विश्वकीर्तिमान कायम गर्नु भएको छ । सन् २००८ देखि नेपालमा सगरमाथा दिवस मनाउन थालिएको हो । सगरमाथा दिवसको यस वर्षको नारा 'विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव' तय गरिएको छ ।

दिवसको अवसरमा आज काठमाडौंमा प्रभातफेरी गरिएको छ । ठमेलदेखि कमलादीस्थित प्रज्ञा भवनसम्म बिहान र्‍याली निकालिएको थियो । दिवसकै अवसरमा आज विभिन्न आरोहीलाई सम्मानसमेत गरिँदै छ । कान्तिपुर टेलिभजनले सगरमाथा दिवसका अवसरमा आज दिउँसो ३ बजे 'सगरमाथा सम्वाद' कार्यक्रम प्रत्यक्ष प्रसारण गर्दैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.