साइबर आक्रमणको निसानामा नेपाल, राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा

मंसिर १४, २०८१ |रमेश धमला
साइबर आक्रमणको निसानामा नेपाल, राष्ट्रिय सुरक्षामाथि गम्भीर खतरा

काठमाडौं । सरकारका संवेदनशील निकायहरु नै साइबर अपराधीको निसानामा पर्न थालेका छन्। विमानस्थलको अध्यागमन प्रणालीदेखि नागरिकको गोप्य विवरण रहेको राहदानी विभागसम्ममा साइबर आक्रमण भएको छ। अहिले पनि कतिपय सरकारी साइट बन्द छन् । तर सरकारले आफ्ना साइबर सुरक्षा संयन्त्रलाई बलियो बनाउन सकेको छैन ।

नागरिकको सम्पूर्ण व्यक्तिगत विवरण राखिने राहदानी विभागमा साइबर आक्रमण भएको एक साता पुग्यो। सेवा अझै सहज भएको छैन । नेपाली नागरिकको जैविकदेखि व्यक्तिगत सबै विवरण राखेर दिइने राहदानीको प्रणालीमाथि नै भएको साइबर आक्रमण सामान्य होइन । राहदानी विभागले साइबर आक्रमणबाट भएको क्षतिको तथ्य सार्वजनिक गरेको छैन । मालवेयर आक्रमण भएको आशंका गरिए पनि त्यसको अनुसन्धान र विवरण आउन बाँकी छ । त्यति मात्र नभएर राहदानीको सुरक्षा प्रणाली उपलब्ध गराउने कम्पनीको विश्वसनियतामाथि त प्रश्न उठेको छ नै, त्योभन्दा नेपालको साइबर सुरक्षा कति जटिल अवस्थामा छ भन्ने पुष्टि गरेको छ । नेपाल प्रहरीमा साइबर विज्ञका रुपमा करिब ३० वर्ष काम गरेका पूर्वडीआइजी राजीव सुब्बा राहदानी प्रणालीमा भएको आक्रमण राष्ट्रिय सुरक्षामाथि नै गम्भीर भएको बताउनुहुन्छ ।

त्यसो त पाँच महिनाअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रणालीमा पनि पटकपटक साइबर आक्रमण भएर सेवा नै ठप्प भएको थियो । जुन जोखिम अहिले पनि टरिसकेको छैन । अहिले पनि सुदूरपश्चिम सरकारका तीन वटा मन्त्रालयका वेवसाइट साइबर आक्रमणमा परेपछि चलेका छैनन् । यसले नेपालका संवेदनशील संयन्त्रहरु साइबर आक्रमणको जोखिममा रहेको प्रमाणित गरिरहेको छ ।

सरकारले सरकारी विवरण सुरक्षित राख्ने एकीकृत डाटा व्यवस्थापन प्रणाली बनाएको छ । केन्द्रीय तथ्यांक प्रणालीमै भइरहेको आक्रमण नियन्त्रण गर्न सक्ने जनशक्ति र प्रविधिनै कमजोर अवस्थामा छन् । नेपाली सेनाको साइबर स्पेसमा पनि यसअघि पटक-पटक आक्रमणको प्रयास भएको छ । राष्ट्र बैंक, सुविसु इन्टरनेट, राजश्व व्यवस्थापन, लोकसेवा आयोग, नेसनल सफ्टवेयर एन्ड आइटी सोलुसनसमेत गरी एक दर्जन निकायमा भएको आक्रमणबाट २ करोड भन्दा बढीको विवरण चोरिएको प्रहरी अनुसन्धानले देखाइसकेको छ । नेपालका बैंकको प्रणालीमा पनि पटक-पटक आक्रमण भएका छन् । जसमा कतिपयले आफ्नो प्रतिष्ठाका कारण फिरौति बुझाएर तथ्यांक फिर्ता ल्याएको विषय गुपचुप राखेका छन् । नेपालका सरकारी साइटमा बढीरहेको आक्रमणले गम्भीरता बढाएकाले त्यहीअनुसार थप सतर्कता चाहिएको साइबर ब्यूरो प्रमुखकै बुझाइ छ ।

गत कात्तिक २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साइबर आक्रमणका कारण इन्टरनेट सेवा नै अबरुद्ध भएको विमानस्थलकै एक अधिकृतले जानकारी दिए । उडानको समय परेको भए चार घण्टा इन्टरनेट सेवा अवरुद्ध हुँदा एयरट्राफिक कन्ट्रोल नै अप्ठेरोमा पर्ने स्थित आएको थियो । यी उदाहरण मात्रै हुन् । जसले नेपालको राष्ट्रिय सुरक्षामा नियमित मात्रै नभएर साइबरलाई सामान्य रुपमा लिने स्थित नभएको र तत्काल लगानी नबढाएर नियन्त्रण बाहिर नजाने पूर्वडीआइबी सुब्बा बताउनुहुन्छ ।

सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण पनि कठिन हुँदै गएको छ । त्यसैमाथि अन्तर्राष्ट्रिय हृयाकरहरुले नेपाललाई नै निशाना बनाइरहेको तथ्यले साइबर सुरक्षाका लागि दक्ष जनशक्तिको अभाव देखाइरहेको छ । प्रविधि, जनशक्ति र कानुनमा कठोरता नपअनाए अप्ठ्यारो स्थिति आउन सक्छ ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement