छैन विपत्‌पूर्वको सूचना प्रणाली मजबुत, अकालमा ज्यान गुमाउँदै नागरिक (रिपोर्ट)

चैत्र ११, २०७९ |शमशेरविक्रम जीसी
छैन विपत्‌पूर्वको सूचना प्रणाली मजबुत, अकालमा ज्यान गुमाउँदै नागरिक (रिपोर्ट)

प्युठान । आधुनिक वैज्ञानिक उपकरणहरुले विपत्‌पूर्वको सूचना प्रणालीलाई बलियो बनाउँदै लगेको छ । त्यस्ता उपकरणहरुको प्रयोग प्राकृतिक विपत्तिको सम्भावित क्षति र भवितव्यबाट जोगाउन निकै उपयोगी छ । तर नेपालको ग्रामीण क्षेत्रसम्म विपत्‌पूर्वको सूचना प्रणाली मतबुत नहुँदा नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ ।

गत असोजमा परको अविरल वर्षाका कारण प्युठानको माण्डवी र ऐरावती गाउँपालिकाका विभिन्न ठाउँमा पहिरो जाँदा आठजनाको मृत्यु भयो भने एक सय बढी परिवार विस्थापित भए । लगातार तीन दिनसम्म पानी पर्दासमेत जिल्लामा वर्षा मापन गर्न राखिएका उपकरणले एकपटक पनि सूचना दिएन । कति मात्रामा पानी पर्‍यो र यसको प्रभावका विषयमा पूर्वानुमान गर्नुपर्ने त्यस्ता उपकरणहरुको सूचना नागरिकसम्म नपुग्दा दूरदराजका बासिन्दाले अकालमा ज्यान गुमाउनु परेको स्थानीय मीनराज भट्टराई बताउँछन् ।

त्यसो त खोलामा बाढी आउनुपूर्व जानकारी दिने, वर्षामापन गर्ने, मौसमसम्बन्धी जानकारी दिनेजस्ता यन्त्र उपकरण भए पनि त्यसको प्रभावकारी उपयोग नहुँदा आमनागरिकले जोखिम मोल्न बाध्य छन् । विपत्‌को पूर्वतयारीका लागि यस्ता यन्त्र उपकरणको प्रयोग गर्न सके जोखिन कम गर्न सकिने सरोकारवाला जानकार भए पनि पूर्वतयारी र सावधानीतर्फ ध्यान पुगेको छैन ।

स्थानीय तहदेखि जिल्ला हुँदै प्रदेश र केन्द्रसम्मै यस्ता विपत् पूर्वतयारी समितिहरु बनेका छन् । तर त्यस्ता समितिहरु प्रविधि र सूचनाको प्रयोगले पूर्वतयारीभन्दा पनि विपत्‌पछिको उद्धार र राहतमा केन्द्रित हुने गरेको झिमरुक गाउँपालिका प्युठानका उपाध्यक्ष प्रमोद पोख्रेलको भनाइ छ ।

विपत्‌ जोखिम न्यूनीकरणका निम्ति जल-मौसम र जलवायुको पूर्वसूचना तथा त्यसैअनुसारको पूर्वतयारीको अपरिहार्यतालाई तीनै तहका सरकारले जोड दिन आवश्यक छ । 


Image

शमशेरविक्रम जीसी

जीसी कान्तिपुर टेलिभिजनका प्युठान संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement