
काठमाडौं । विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ आजदेखि सुरु हुँदैछ । क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा आयोजना हुने नयाँ स्वरूपको प्रतियोगितामा कुल ४८ टोली सहभागी छन् भने १ सय ४ खेल खेलिने छन् ।
प्रतियोगिताको उद्दघाटन खेलमा समूह एमा रहेको मेक्सिकोले मेक्सिको सिटी स्टेडियममा दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार राति पौने १ बजे सुरु हुने छ । यस पटक विश्वकप अघि तीनवटा उद्घाटन समारोह आयोजना हुने छन् । मेक्सिकोमा हुने उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाइ, आलेहान्द्रो फर्नान्डेज, जे बाल्भिन, टाइला लगायतका कलाकारहरूको प्रस्तुति रहनेछ । हरेक समारोह सम्बन्धित देशको पहिलो खेल सुरु हुनुभन्दा ९० मिनेट अघि सुरु हुनेछ । रिपोर्ट अनुसार, मेक्सिको सहरको समारोह करिब १६ मिनेट ३० सेकेन्ड लामो हुनेछ भने टोरन्टो र लस एन्जलसका कार्यक्रम करिब १३-१३ मिनेटका हुनेछन् ।
समारोह सकिएपछि टोलीहरूले मैदानमा वार्मअप गर्नेछन् । खेल सुरु हुनुभन्दा २५ मिनेटअघि औपचारिक कार्यक्रम, खेलाडी प्रवेश र परिचयात्मक कार्यक्रम हुने छ । जुन करिब १३ मिनेटसम्म चल्नेछ ।
मेक्सिकोले खेल सुरु हुनुअघि नै इतिहास बनाइसकेको छ । उ पुरुष विश्वकप तीन पटक आयोजना गर्ने पहिलो राष्ट्र बन्दैछ । यसअघि उसले एकल रुपमा सन् १९७० र १९८६ को विश्वकप आयोजना गरिसकेको छ ।
मुख्य प्रशिक्षक हाभियर अगिरेले तेस्रो पटक विश्वकपमा टोलीको नेतृत्व गर्दैछन् । ६७ वर्षीय प्रशिक्षकको नेतृत्वमा टोली सन् २०२२ को कतार विश्वकपको निराशाजनक प्रदर्शनलाई बिर्सन चाहन्छ । जहाँ उ १९७८ पछि पहिलो पटक नकआउट चरण पुग्न असफल भएको थियो ।
फिफा वरीयतामा १४औं स्थानमा रहेको मेक्सिको आयोजक भएकाले छनोट खेल खेल्नु परेन । दक्षिण अफ्रिका चौथो पटक विश्वकपमा सहभागी हुँदैछ । सन् २०१० मा आयोजक बनेपछि उ लामो समयसम्म छनोट हुन असफल भएको थियो । तर यसपटक पुनरागमन गरेको छ । छनोट चरणमा दक्षिण अफ्रिकाले नाटकीय ढंगले स्थान सुरक्षित गरेको थियो । अन्तिम खेलमा रुवाण्डामाथि ३-० को जित र नाइजेरियाले बेनिनलाई ४-० ले हराएपछि उ शीर्ष स्थानमा पुगेको थियो । बेल्जियन प्रशिक्षक हृयुगो ब्रूसको नेतृत्वमा टोली अहिले फिफा वरीयतामा ६०औं स्थानमा छ । मेक्सिकोका गोलरक्षक गुइलेर्मो ओचोआ छैटौं विश्वकप खेल्दै इतिहास रच्ने छन् । कप्तान एड्सन अल्भारेजले आफ्नो ९९औं अन्तर्राष्ट्रिय खेल खेल्ने छन् । आक्रमणमा राउल जिमेनेज प्रमुख हुनेछन् । यदि उनले एक गोल गरे, उनी राष्ट्रिय टोलीका दोस्रो सर्वाधिक गोलकर्ता बन्नेछन् । जुलियन क्विनोनेस र रोबर्टो अल्भाराडो पनि आक्रमणमा रहने सम्भावना छ । दक्षिण अफ्रिकातर्फ, डिफेन्समा इमे ओकोन र म्बेकेजेली म्बोकाजी देखिन सक्छन् । मध्यपंक्तिमा तेबोहो मोकोएना, थालेन्ते म्बाथा र याया सिथोले खेल्नेछन् । आक्रमणमा लायल फोस्टर मुख्य खेलाडी हुनेछन् । जसलाई ओस्विन अपोलिसले साथ दिनेछन् । अपोलिसले छनोट चरणमा ६ गोलमा प्रत्यक्ष योगदान दिएका थिए ।