राखेपले एन्फा निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेको भन्दै फिफा र एएफसीको संयुक्त आपत्ति

तेस्रो पक्षको हस्तक्षप नरोकिए एन्फालाई तत्काल निलम्बन गर्ने चेतावनी
चैत्र २२, २०८२ |खेल ब्युरो
राखेपले एन्फा निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेको भन्दै फिफा र एएफसीको संयुक्त आपत्ति

काठमाडौं । फिफा र एएफसीले राष्ट्रिय खेलकुद परिषद्को हस्तक्षेप नरोकिए अखिल नेपाल फुटबल संघ -एन्फालाई तत्काल निलम्बन गर्ने कडा चेतावनी दिएका छन् ।

फिफा र एएफसीले एन्फा महासचिव किरण राईलाई सम्बोधन गर्दै शनिबार संयुक्त रूपमा पत्र पठाएर निलम्बनको चेतावनी दिएका हुन् । राखेपले गत चैत ११ गतेको निर्णयअनुसार एन्फालाई तीन महिनाका लागि निलम्बन गर्ने र चैत १३ गतेका लागि तय भएको निर्वाचन रोक्ने निर्देशन दिएको थियो, जसलाई फिफाले 'तेस्रो पक्षको अनुचित हस्तक्षेप' ठहर गरेको छ ।

फिफाले राखेपको उक्त निर्णय सात दिनभित्र खारेज गर्न अल्टिमेटम दिएको छ । यदि निर्धारित समयभित्र राखेपको निर्णय रद्द गरी निर्वाचन प्रक्रिया पुन: सञ्चालन नगरिए एन्फाको सदस्यता तत्काल निलम्बनका लागि फिफा काउन्सिलमा सिफारिस गरिने पत्रमा उल्लेख छ ।

निलम्बनको अवस्थामा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा भाग लिन पाउने छैन । यसका साथै, फिफा र एएफसीबाट प्राप्त हुने विकास कोष र अन्य आर्थिक सुविधासमेत पूर्ण रूपमा रोक्का हुनेछन् । फिफाले यसअघि पनि पटक-पटक पत्राचार गर्दै फुटबल संघलाई स्वतन्त्र रूपमा काम गर्न दिन र बाह्य हस्तक्षेप नगर्न सचेत गराउँदै आएको थियो ।