
चितवन । चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतका मध्यवर्ती उपभोक्ता समितिमा तत्काल नयाँ नेतृत्व चयन गर्न उपभोक्ताहरूले माग गरेका छन्।
साउन १४ गते नै कार्यकाल सकिएको मध्यवर्ती उपभोक्ता समितिमा नयाँ नेतृत्व चयन हुन नसकेको हो। मध्यवर्ती क्षेत्रमा भूमि समस्या समाधान आयोगले जग्गा नाप नक्सा नगरेको भन्दै प्रभावित समुदायले बासिन्दाले अवरोध गरेपछि केही समय रोकिएको थियो।
त्यसपछि चुनावले रोकिएको निर्वाचन अब तत्कालै गर्न माग गरेका हुन्। जिल्लामा नन्द भाउजु, सिख्रौली र त्रिवेणी मध्यवर्ती सामुदायिक वन समितिमा नयाँ नेतृत्व चयन भए पनि पूर्वी नवलपरासीमा अझै पाँचवटा समिति नेतृत्वविहीन रहेका छन्। नेतृत्व नयन हुन नसक्दा यस क्षेत्रका बासिन्दाले घर गोठ बनाउँदा आवश्यक पर्ने नदीजन्य पदार्थ प्राप्त गर्न नसकेको, बालीनालीको क्षतिको राहत पाउन नसकेको र मध्यवर्ती क्षेत्रमा सञ्चालन हुने व्यवसायले दर्ता र नवीकरणका लागि झन्झट ब्यहोर्नु परेको छ।
घटनाको जानकारी कर्मचारीबाट आए पनि क्षतिपूर्ती पाउनका लागि समिति नै आवश्यक पर्ने भएकाले नेतृत्व चयनको प्रक्रिया सुरू गर्न छलफल भैरहेको चितवन राष्ट्रिय निकुञ्जका सुचना अधिकारी अविनास थापाले बताउनुभयो।