सम्बाकाे उपचारमा बेवास्ता गरेको भन्दै एन्फा कम्प्लेक्समा खेलाडी संघको विरोध प्रदर्शन

एन्फाको न्यून सहयोगको चौतर्फी आलोचना
फाल्गुन १२, २०८२ |खेल ब्युरो
सम्बाकाे उपचारमा बेवास्ता गरेको भन्दै एन्फा कम्प्लेक्समा खेलाडी संघको विरोध प्रदर्शन

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी-साम्बाकाे उपचारमा ढिलाइ र अखिल नेपाल फुटबल संघ-एन्फाको उदासीनतालाई लिएर मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल फुटबल खेलाडी संघले विरोध प्रदर्शन गरेको छ। 

संघले साम्बाको योगदानको अवमूल्यन गरिएको भन्दै सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएको हो । साम्बाले उपचारका लागि सार्वजनिक रूपमा सहयोगको अपील गरेपछि मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेपाल फुटबल खेलाडी संघले विरोध प्रदर्शन गरेको हाे । 

अस्ट्रेलियाको ए-लिग खेल्ने क्रममा घाइते भएकी कीर्तिमानी स्ट्राइकर साम्बा सात हप्तादेखि मैदान बाहिर छिन् । उनको घुँडाको जटिल शल्यक्रिया र पुन:स्थापनाका लागि करिब ८० हजार डलर लाग्ने अनुमान गरिएको छ । तर, साम्बाले आफूले अभिभावक मानेको एन्फाले प्रशासनिक सहयोग गर्न नसक्ने बताएपछि सार्वजनिक रूपमा आर्थिक सहयोग माग्न बाध्य भएको खुलासा गरेकी थिइन् ।

यसै विषयलाई लिएर मंगलबार फुटबल खेलाडी संघका खेलाडीहरूले एन्फा कम्प्लेक्स सातदोबाटोमा विरोध प्रर्दशन गरे। उनीहरूले सम्बा जस्तो खेलाडीलाई एन्फाले परिआएको बेला सहयोग नगरेको विषयप्रति असन्तुष्टि जनाएका छन् ।  एन्फाले क्लबबाट खेल्दा घाइते भएको भन्दै सहयोग गर्न नपर्ने तर्क उठ्नुले आफूलाई निकै चोट पुगेको साम्बाले बताएकी छन् । 

यद्यपि, चौतर्फी दबाब बढेपछि एन्फाले कतार फुटबल संघलाई पत्राचार गरेको र परराष्ट्र मन्त्रालयसँग पनि समन्वय गरिरहेको दाबी गरेको छ । तर, सात हप्तासम्म प्रक्रिया नै अघि नबढाएको भन्दै खेलाडी संघले नेतृत्वको नियतमाथि प्रश्न उठाएको छ । साम्बाको उपचारका लागि सुरू गरिएको क्राउड फन्डिङमा हालसम्म विश्वभरबाट लाखौँ रूपैयाँ संकलन भइसकेको छ ।