मोफसल गोल्डकपमा रेफ्री विवाद : नेपाली फुटबलको निष्पक्षता र भविष्यमाथि प्रश्न

फाल्गुन २, २०८२ |अर्जुन सुवेदी
मोफसल गोल्डकपमा रेफ्री विवाद : नेपाली फुटबलको निष्पक्षता र भविष्यमाथि प्रश्न

सुनसरी । मोफसलका गोल्डकपहरू नेपाली फुटबलका लागि उत्सव मात्र होइनन्, स्थानीय अर्थतन्त्र र खेल संस्कृतिको जीवनरेखा समेत हुन् । 

लाखौ‌ रूपैयाँ खर्च गरेर क्लबले विदेशी तथा 'ए'-डिभिजनका खेलाडी अनुबन्ध गरेर यी प्रतियोगिताहरू खेल्छन् । रेफ्रीको एउटा मात्रै विवादास्पद निर्णयले पनि खेलको परिणाम मात्र नभइ, लगानी, प्रतिष्ठा र समर्थकको भावनामा समेत गम्भीर असर पार्छ । पछिल्लो समय मोफसलका गोल्डकपमा रेफ्रीको भूमिकालाई लिएर गुनासो र विवाद बढ्दै जाँदा क्लबहरू चिन्तित छन् ।

रेफ्रीको निर्णयलाई लिएर खेल मैदानमै आक्रमण, दुर्व्यहार र विवादका घटना थुप्रै छन् । २६औ‌ँ संस्करणको बुढासुब्बा गोल्डकपमा पनि यस्तै विवाद दोहोरिएको छ । यसअघि इटहरी गोल्डकप, विराट गोल्डकप र झापा गोल्डकप पनि यो समस्याबाट अछुतो थिएनन् । 

नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले रेफ्री उत्पादन, नियमित तालिम, मूल्यांकन र व्यवसायीकरणमा अपेक्षित ध्यान दिन नसक्दा समस्या दोहोरिने गरेका छन् । पर्याप्त प्रशिक्षण, प्राविधिक सहयोग र स्पष्ट करियर मार्ग नहुँदा दक्ष रेफ्रीहरूको संख्या सीमित छ ।

खेल खेलाएर मात्र जीवन निर्वाह गर्न नसक्ने आर्थिक अवस्थाका कारण केही अनुभवी रेफ्रीहरू वैदेशिक रोजगारीतर्फ पलायन भएका छन् । परिणामतः उच्च दबाब र प्रतिस्पर्धा भएका खेलमा कम अनुभव भएका रेफ्रीहरू खटिन बाध्य हुन्छन्, जहाँ सानो त्रुटिले ठूलो विवाद निम्त्याउने गरेको छ ।

खेलमा निर्णय पूर्ण त्रुटिरहित हुन्छन् भन्ने अपेक्षा पनि सत्य होइन । फुटबल तीव्र गतिमा चल्ने खेल हो, जहाँ सेकेन्डको निर्णयले परिणाम तय गर्छ । अपरिपक्व निर्णय वा पक्षपात भएको आशंका भएमा त्यसको निरूपणका लागि नियम, निर्देशिका र अनुशासन समिति छन् । 

कुनै टिमलाई जिताउन वा हराउन जानाजान गलत निर्णय गरेको प्रमाणित भए कारबाहीको प्रावधान पनि छ । तर त्यसको सट्टा मैदानमै उत्रिएर हातपात र झगडा गर्नु अराजकता हो, जसले खेल संस्कृतिलाई नै कमजोर बनाउँछ । समस्या समाधानका लागि बहुआयामिक पहल आवश्यक छ । 

यसका लागि एन्फाले रेफ्री विकास कार्यक्रमलाई प्राथमिकता दिई नियमित तालिम, फिटनेस परीक्षण र मूल्यांकन प्रणाली कडाइका साथ लागू गर्नुपर्छ । अनुशासनमा नबस्ने दर्शक र खेलाडीलाई पनि कारबाहीको दायरामा ल्याउन आवश्यक छ । मोफसलका प्रतियोगितामा पर्याप्त अनुभव भएका रेफ्री खटाउने स्पष्ट मापदण्ड बनाइनुपर्छ । 

आयोजकले सुरक्षा व्यवस्थापन सुदृढ गरी क्लब र समर्थकलाई पनि अनुशासनको घेराभित्र राख्न कडाइ गर्नुपर्छ । नेपाली फुटबललाई ऊर्जा दिइरहेका मोफसलका गोल्डकपले नयाँ प्रतिभा देखाउने, दर्शकलाई मैदानतर्फ तान्ने र स्थानीय स्तरमा खेल संस्कार विकास गर्ने काम गर्दै आएका छन् । तर निष्पक्षता र सुरक्षामाथि प्रश्न उठिरहँदा त्यो उपलब्धी ओझेलमा पर्न सक्छ ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।