.png&w=1000&height=550)
काठमाडौं । छैटौं टाइगर कप भलिबलअन्तर्गत पुरूषतर्फ पर्वत जिल्ला भलिबल संघले लगातार दोस्रो जित हात पारेको छ ।
पोखरा रंगशाला भलिबल कोर्टमा आइतबार सम्पन्न पुरूषतर्फको खेलमा पर्वतले नेपाल एपीएफ क्लबलाई ४ सेटमा स्तब्ध पारेको हो । विभागीय टोलीविरूद्ध पहिलो सेट २५-१८ ले जित्दै सानदार सुरूवात गरेको पर्वत दोस्रो सेटेमा भने पछि परेको थियो । एपीएफले दोस्रो सेट २५-२१ ले जित्दै पुनरागमनको प्रयास गरेको थियो । तर तेस्रो र चौथो सेटमा पर्वतले प्रभावशाली खेल पस्कियो ।
यी दुबै सेटमा क्रमश: २५-१९ र २५-१५ को सहज नतिजा हात पारेसँगै उसले प्रतियोगितामा लगातार दोस्रो जित सुरक्षित गरेको हो । पर्वतले आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पाँच सेटमा स्तब्ध पारेको थियो । आफ्नो पहिलो खेलमा घरेलु टोली गण्डकी भलिबल संघविरुद्ध ४ सेटको रोमाञ्चक जित हात पारेको एपीएफ यस खेलमा भने सोही लय कायम गर्न सकेन ।
पुरुषतर्फकै अर्को खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्यो । पुलिसले आर्मीलाई ३-१ को सेटमा पराजित गरेको हो । पहिलो सेट २२-२५ र दोस्रो सेट १६-२५ ले गुमाएको आर्मीले तेस्रो सेटमा २५-२१ ले जित निकाल्दै खेलमा फर्किने कोसिस गरे पनि सफल हुन सकेन ।
चौथो सेटमा पुलिसले २५-१५ ले आफ्नो पक्षमा पार्दै खेल जित्यो । प्रतियोगितामा महिला र पुरुषतर्फको विजेताले समान नगद ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।