
काठमाडौं । नेपाल क्रिकेट संघ -क्यानले सन् २०२६ का लागि आफ्नो वार्षिक क्रिकेट क्यालेन्डर सार्वजनिक गरेको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत क्यानले आगामी वर्षका लागि पुरूष तथा महिला र विभिन्न उमेर समूहका राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगिता, विभिन्न शृंखला र घरेलु क्रिकेट प्रतियोगिताहरू समेटिएको क्यालेन्डर सार्वजनिक गरेको हो । सार्वजनिक क्यालेन्डरअनुसार २०२६ मा नेपाली पुरूष र महिला क्रिकेट टोली व्यस्त तालिकामा रहनेछन् ।
जनवरी महिनामा आईसीसी महिला टी-२० विश्वकपको ग्लोबल छनोट प्रतियोगिता नेपालमै आयोजना गरिनेछ । फेब्रुअरीमा नेपाली पुरूष टोलीले भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुाने टी-२० विश्वकपमा सहभागिता जनाउनेछ भने महिला टोलीका लागि प्रिमियर कप आयोजना गर्ने प्रस्ताव पनि गरिएको छ ।
मार्च महिनामा नेपाली पुरुष टोलीले आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत यूएई र आमेनलाई घरेलु मैदानमा स्वागत गर्ने छ भने सोही महिनामा महिला टोलीले द्विपक्षीय शृंखला खेल्ने उल्लेख छ । यू-१९ टोलीले भुटान भ्रमण गर्ने कार्यक्रम समावेश गरिएको छ ।
अप्रिलमा नेपाल 'ए' टोलीको शृंखला आयोजना हुनेछ। यस्तै महिला टोली तथा यू-१९ महिला टोलीको पनि शृंखला हुने तालिका रहेको छ । मे महिनामा पुरूष टोलीले लिग-२ अन्तर्गत अमेरिका र स्कर्टल्यान्डसँग घरेलु सिरिज खेल्ने छ । खेलसँगै तिन वा चार टोली सहभागी टी-२० अन्तर्राष्ट्रिय शृंखला पनि प्रस्ताव गरिएको छ । यसै महिना नेपाल 'ए' टोली र महिला टोलीको पनि अन्तर्राष्ट्रिय शृंखला आयोजना गरिने उल्लेख छ ।
जुन महिनामा नेपाली पुरुष टोलीले घरेलु टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्नेछ भने यू-१९ महिला टोलीले मलेसिया भ्रमण गर्ने कार्यक्रम तय गरिएको छ । महिला टी-२० विश्वकपमा छनोट हुन सके नेपालले इंग्ल्यान्ड भ्रमण गर्ने छ । जुलाईमा पुरुष टोली अर्को लिग-२ शृंखलाका लागी नेदरल्यान्ड्स भ्रमण्मामा जाने छ । जहाँ नेपालले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने छ ।
यही महिनामा महिला एसिया कप तथा एसीसी पुरुष यू-१६ इस्ट जोन कप पनि आयोजना हुने तालिका रहेको छ । अगस्टमा पुरुष टोलीले एसीसी प्रिमियर कप खेल्नेछ भने कुवेतसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेल्ने कार्यक्रम पनि समावेश छ । अस्ट्रेलियाको टप एन्ड शृंखलामा यस वर्ष पनि नेपालले सहभागिता जनाउने उल्लेख गरिएको छ ।
सेप्टेम्बरमा पुरुष टोलीले विदेशी भूमिमा द्विपक्षीय शृंखला खेल्नेछ भने महिला टोलीले यूएईसँग शृंखला खेल्नेछ । अक्टोबरमा नेपाली पुरुष टोलीको लिग-२ शृंखला हुनेछ । यस क्रममा नेपालले ओमान भ्रमण गर्दै घरेलु टोली र क्यानडासँग लिग-२ को त्रिकोणात्मक सिरिज खेल्ने छ । महिला टोलीका लागि त्रिदेशीय अन्तर्राष्ट्रिय शृंखला आयोजना गरिने तालिका रहेको छ।
नोभेम्बर, डिसेम्बरमा एनपीएल क्रिकेट आयोजना हुनेछ भने डिसेम्बरमा महिला र पुरुष दुबै टोलीका अन्तर्राष्ट्रिय शृंखला सञ्चालन गर्ने क्यानले जनाएको छ । यस्तै महिला पुरुष पीएम कप पुरुषको बहुदिवसीय जय ट्रफी लगायत अन्य प्रतियोगिता र उमेर समूहका प्रतियोगिता समावेश गर्दै घरेलु क्रिकेट क्यालेन्डर पनि सार्वजनिक गरिएको छ ।