कमब्याकदेखि कीर्तिमानसम्म : अविस्मरणीय बन्यो २०२५ को विश्व फुटबल

पुस १४, २०८२ |सुवास रोकाया
कमब्याकदेखि कीर्तिमानसम्म : अविस्मरणीय बन्यो २०२५ को विश्व फुटबल

काठमाडौं । सन् २०२५ विश्व फुटबलका लागि अत्यन्तै रोमाञ्चक र इभेन्टफुल वर्ष रह्याे । 

रोमाञ्चक कमब्याक, ऐतिहासिक उपाधि, व्यक्तिगत कीर्तिमानी, महिला तथा पुरुष फुटबलमा उत्कृष्ट प्रदर्शनले संसारभरका फ्यानहरूलाई रोमाञ्चित बनायो । प्रत्येक खेल, गोल र उपाधिले विशिष्ट कथा बोकेको वर्ष बन्यो २०२५ । त्यसो त केही दुःखद घटनाले संसारभरका समर्थकलाई स्तब्ध पार्दा केही विवाद र कानुनी मुद्दाहरू पनि हेडलाइन बने ।

यो वर्ष अन्तर्राष्ट्रियस्तरमा फुटबलको दायरा अझ व्यापक बन्यो । अमेरिकामा सम्पन्न फिफा क्लब विश्वकपमा युरोप, दक्षिण अमेरिका, एसिया र अफ्रिकाका उत्कृष्ट क्लबहरूले एउटै मञ्चमा प्रतिस्पर्धा गर्ने अवसर पाए । ३२ टोलीको क्लब विश्वकपमा चेल्सीले पेरिस सेन्ट-जर्मेनलाई ३-०को फरकले पराजित गर्दै उपाधि जित्यो । 

अधिकांश विश्लेशकहरुले पीएसजीलाई दावेदरको रुपमा चित्रण गर्दा प्रशिक्षक एन्जो मारेस्काको रणनीति निर्णायक रह्याे । युरोपको प्रतिष्ठित प्रतियोगिता युएफा च्याम्पियन्स लिगको फाइनलमा पीएसजीले इन्टर मिलानमाथि ५-० को फराकिलो जित हात पार्दै च्याम्पियन बन्यो । 

लामो समयको प्रयास र निराशापछि पीएसजीले उपाधि आफ्नो बनायो । मिडफिल्डर भिटिन्हा र स्ट्राइकर ओस्मान डेम्बेलेको उत्कृष्ट खेलले पीएसजीलाई युरोपको सबल क्लबको रूपमा प्रस्तुत गर्‍यो । प्रशिक्षक लुइस एनरिकेको रणनीति प्रशंसायोग्य रहृयो र यसले उनलाई वर्षको उत्कृष्ट प्रशिक्षकको सम्मान दिलायो ।

चोटका बाबजुद डेम्बेलेले पेरिस सेन्ट-जर्मेनलाई लिग-वान नेसन्स लिग, सुपर कप र च्याम्पियन्स लिग सहित ६ उपाधि जिताउन योगदान पुर्‍याए । दृढता र उत्कृष्ट प्रदर्शनले उनलाई वर्षको उत्कृष्ट पुरुष खेलाडीको सम्मान दिलायो । यसै सफलताले उनी बालोन दो र फिफा बेस्ट अवार्डको हकदार बने । महिलातर्फ स्पेनकी मिडफिल्डर आइताना बोनमातीले यी दुबै अवार्ड आफ्नो बनाइन् ।

तर कतिपयले फिफा बेस्ट अवार्डको निर्णयमा क्लब राजनीति र खेलाडीको लोकप्रियताले प्रभाव परेको भन्दै सामाजिक सञ्जालमा आलोचना गरे । यसले प्रक्रियाको पारदर्शीतामाथि प्रश्न उठायो । युएफा नेसन्स लिगमा पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ ले पराजित गर्दै दोस्रो उपाधि हात पार्‍यो । 

क्रिस्टियानो रोनाल्डोले बराबरी गोल फर्काउँदै खेल पेनाल्टीमा धकेलेका थिए । पोर्चुगलको बलियो टोली संरचना र क्षमतावान खेलाडीको लामो सूचीले आगामी विश्वकपका लागि उसको तयारीलाई मजबुत बनाएको छ । लिभरपुलले २०औं पटक प्रिमियर लिगको उपाधि जित्दै म्यानचेस्टर युनाइटेडको कीर्तिमान बराबरी गर्यो । 

घरेलु मैदान एनफिल्डमा च्याम्पियन बनेपछि लिभरपुलको सेलिब्रेसन आइकोनिक बन्यो । पुरै एनफिल्ड रातो रंगमा रंगिएको थियो । नयाा सिजनका लागि लिभरपुलले स्विडिश आक्रमक खेलाडी अलेक्जान्डर इसाकलाई न्युकासल युनाइटेडबाट अभूतपूर्व रकममा अनुबन्ध गर्‍यो । उनी ब्रिटिस रेकर्ड १ सय २५ मिलियन पाउण्डमा लिभरपुलमा सामेल भए ।

लियोनल मेसीले अर्जेन्टिनाको मैदानमा आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेले । भेनेजुएलाविरुद्ध ३-० विजयी खेलमा २ गोल गर्दै मेसीले महत्वपूर्ण भूमिका खेले । ब्युनस आयर्समा उनको भावनात्मक बिदाइ भयो । । यद्यपि मेसीले इन्टर मयामीबाट ठूलो सफलता हात पारे । एमएलएस कपको फाइनलमा भ्यानकुवर हृवाइटक्याप्सलाई ३-१ ले पराजित गर्दै मयामीलाई पहिलो उपाधि दिलाए । दक्षिण फ्लोरिडामा मेसीको आगमनपछि साढे २ वर्षमै मयामीले यो सफलता हात पार्यो ।

फुटबल समर्थक त्यतिखेर सबैभन्दा निरास भए जब पोर्चुगल र लिभरपुलका फरवार्ड डिओगो जोटाको स्पेनमा सडक दुर्घटनामा निधन भएको समाचार बाहिरियो । उनको आकस्मिक निधनले फुटबल समुदायमा गहिरो शोक छायो । कार्लो एन्सेलोट्टीले ब्राजिलको प्रशिक्षकको रूपमा नियुक्ति पाए । पहिलो हाइ-प्रोफाइल विदेशी प्रशिक्षकका रूपमा उनलाई २०२६ विश्वकपमा ब्राजिललाई छैठौं उपाधि दिलाउने जिम्मेवारी छ ।

सानो क्यारिबियन टापु राष्ट्र क्युराकाओ विश्वकपको लागि छनोट हुने सबैभन्दा सानो राष्ट्र बन्यो । करिब १ लाख ५० हजार जनसंख्या रहेको टापु देशको क्षेत्रफल १ सय ७१ वर्ग माइल मात्र छ । मेसीको भारत भ्रमण सौहार्द हुन सकेनन् । कोलकातामा प्रशंसकहरूले असन्तुष्टि व्यक्त गर्दै मैदानमा हंगामा मच्चाए । 

निराश भएका दर्शकले पानीका बोतलसमेत फ्याँके । केही त तोडफोडमा समेत उत्रिए । व्यवस्थापनमा भएको कमजोरीका लागि बंगाल सरकारले सार्वजनिक रूपमा माफी माग्यो र अनुसन्धानको आश्वासन दियो । नेयमारले सान्तोसलाई रेलिगेशनबाट जोगाउन महत्वपूर्ण भूमिका खेले । चोटका बाबजुद उनले आफ्नो बाल्यकालको क्लबका लागि खेले र विश्व फुटबलको सबैभन्दा ठुलो लेगेसी बोकेको क्लबलाई रेलिगेशन हुनबाट बचाए ।

टर्कीएको फुटबलमा जुवा काण्ड बाहिरियो । सयौं रेफ्रि र अधिकारीहरूले अवैध जुवा खेलेको प्रमाण भेटियो । कतिपय रेफ्रिले राजीनामा दिए र केहीले कारबाही भोगे । प्रमुख क्लबहरूले पारदर्शीता र जवाफदेहिताको माग गरे । एक-दुई केही घटना बाहेक सन् २०२५ फुटबलका लागि ऐतिहासिक उपाधिको वर्ष रह्याे । 

क्लब र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा, महिला तथा पुरुष फुटबलमा उत्कृष्ट प्रदर्शनसहित केही दुःखद घटनाले यो वर्षलाई अविस्मरणीय बनायो । यसले फुटबल आगामी वर्षहरुमा अझ प्रतिस्पर्धात्मक र व्यावसायिक हुँदै जाने स्पस्ट पारेको छ ।


Image

सुवास रोकाया

रोकाया कान्तिपुर टेलिभिजनको खेल ब्युरोमा कार्यरत छन् ।