काठमाडौं । आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट २०२५ अन्तर्गत सुपर सिक्समा आज दुई अपराजित टोली नेपाल र ओमान प्रतिस्पर्धा गर्दैछन् ।
अल अमेरात क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति पौने ९ बजे सुरु हुनेछ । यो खेल जित्ने टोलीले २०२६ मा भारत र श्रीलंकामा हुने आईसीसी पुरुष टी-२० विश्वकपमा स्थान बनाउने छ । त्यसकारण दुवै टोली जितसहित एक खेल अगावै विश्वकपमा स्थान सुरक्षित गर्ने लक्ष्यमा हुनेछन् ।
नेपालले यसअघि सानदार प्रदर्शन गर्दै लगातार चार खेलमा जित दर्ता गरेको छ । कुवेत, जापान, यूएई र कतारलाई पराजित गरेको नेपाल उत्कृष्ट लयमा छ । यसअघि नेपालले पूर्ण सदस्य राष्ट्र वेस्ट इन्डिजलाई हराउँदै युनिटी कप २-१ जितेको थियो । त्ययसकारण नेपाली टिम आत्मविश्वासले भरिएको छ ।
ओमान हाल सुपर सिक्सको शीर्ष स्थानमा रहेको बलियो टोली हो । घरेलु मैदानको फाइदा उठाइरहेको ओमान अनुभवी खेलाडीहरूको संयोजनका कारण निकै बलियो देखिन्छ । जारी प्रतियोगितामा ओमान बलरहरूले पावर प्लेमा आक्रामक बलिङ गरेका छन् भने स्पिनरहरूले मिडिल ओभरमा इनिङ्स पल्टाउने क्षमता राख्छन् । उसले छनोट प्रतियोगितामा सामोआ, पपुवा न्यूगिनी, कतार र यूएईलाई पराजित गरिसकेको छ ।
नेपालले फिल्डिङ र बलिङमा सानदार प्रदर्शन गरे पनि ब्याटिङमा संघर्ष गरिरहेको छ । ओमानलाई पराजित गर्दै एक खेल अगावै विश्वपकमा स्थान बनाउन आज नेपालको ब्याटिङ चल्नु आवश्यक छ । सुपर सिक्स तालिकामा नेपाल र ओमानको समान ६-६ अंक रहे पनि नेट रन रेटका आधारमा ओमान शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो स्थानमा छ ।