प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

आश्विन २९, २०८२ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री कार्कीसँग बेलायती राजदूत फेनको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रोब फेन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुधबार भएको भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त भेटमा प्रधानमन्त्री कार्कीले यो असामान्य परिस्थितिमा बनेको सरकारका मुख्य प्राथमिकता एवं जिम्मेवारी सुशासन र निर्वाचन रहेका बताउँदै तोकिएको समयमै स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो ।

नेपाल र बेलायतबीचको सम्बन्ध ऐतिहासिककालदेखि सौहार्दपूर्ण रहेको र आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि छलफल भएको थियो । सो अवसरमा बेलायती राजदूतले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोगका लागि बेलायत सरकार तयार रहेको बताउनुभएको थियो ।-रासस


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.