वेस्टइन्डिजमाथि नेपालको ऐतिहासिक जित

टेस्ट मान्यता प्राप्त राष्ट्रविरुद्ध लगातार ९ हारपछि नेपाललाई पहिलो सफलता
आश्विन १२, २०८२ |कान्तिपुर टीभी संवाददाता
वेस्टइन्डिजमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं । वेस्टइन्डिजसँगको दुई पक्षिय युनिटी कप सिरिजको उद्घाटन खेलमा नेपालले ऐतिहासिक विजय हात पारेको छ। 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको पूर्ण मान्यता प्राप्त राष्ट्रविरुद्ध नेपालको टी-२० अन्तर्राष्ट्रियमा यो नै पहिलो विजय हो । उत्कृष्ट बलिङ र फिल्डिङपछि नेपालले शनिबार पहिलो ट्वान्टी-२० अन्तर्राष्ट्रियमा दुईपटकको विश्व विजेता वेस्टइन्डिजलाई १९ रनले पराजित गरेको हो । 

नेपालले यसअघि टेस्ट मान्यता प्राप्त टिमहरुविरुद्धको ट्वान्टी-२० आइमा लगातार नौ हार बेहोरेको थियो । यूएईको शारजहाास्थित शारजहाा क्रिकेट रंगशालामा पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाई एक सय ४८ रन बनाएको थियो । जवाफमा वेस्टइन्डिजले नौ विकेट गुमाएर एक सय २९ रन मात्र बनाउन सक्यो ।

नेपालले ओपनरद्वय कुशल भूर्तेललाई ६ र आसिफ शेखलाई ३ रनमा गुमायो। रोहितले सर्वाधिक ३८ रन बनाए । उनले ३५ बल खेली ५ चौका र १ छक्का प्रहार गरे । उनले कुशल मल्लसँग दोस्रो विकेटमा ५८ रनको साझेदारी गरे । 

मल्लले २१ बल खेली ३० रन बनाए । गुलशन झाले पनि २ छक्का प्रहार गर्दै १६ बलमा २२ रन जोडे । दीपेन्ऽले १९ बलमा १७ रन बनाउने क्रममा एक छक्का प्रहार गरे । सन्दीप जोरा नौ रनमै आउट भए । करण पहिलो बलमै बाहिरिए । सोमपाल ५ बलमा ६ र नन्दन २ बल खेली ७ रनमा अविजित रहे ।

वेस्टइन्डिजबाट होल्डरले सर्वाधिक ४ विकेट लिए । उनले ४ ओभरमा २० रनमात्र खर्चेका थिए । बिदाइसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए ।

जवाफमा कुशल भूर्तेलले ओपनर केयल मायर्सलाई ५ रनमा रनआउट गराएका थिए। जाङ्गो २२ बलमा २ चौकासहित १९ रन बनाएर आउट भए । अगस्टीलाई नन्दन यादवले १५ रनमा आउट गरे । 

जेवेल एन्ड्रयु ५ रनमात्र बनाई कप्तान रोहित पौडेलको सिकार भए । केसी कार्टीले १५ बल खेली समान एक चौका र छक्कासहित १६ रन बनाई दीपेन्द्रसिंह ऐरीको थ्रोमा रन आउट भए । बिदाइसीले वस्टइन्डिजबाट सर्वाधिक २२ रन बनाए । 

२५ बल खेलेर समान १ चौका र छक्का प्रहार गरेका उनी भूर्तेलको बलमा हिट विकेट भएका थिए । तल्लो क्रममा कप्तान अकेल हुसैनले आक्रामक खेल्दै वेस्टइन्डिजलाई जितको सम्भावना देखाए पनि उनी असफल भए। उनले १८ रन जोड्न सके।

फाबिएन एलेनले अन्तिममा १९ रन बनाएका थिए। बलिङमा भूर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए । दीपेन्द्र, करण, नन्दन, ललित राजवंशी, रोहित पौडेलले १-१ विकेट लिए । नेपाललाई यस विजयले लगत्तै वेस्टइन्डिजमा सुरु हुने ट्वान्टी-२० विश्वकप एसिया छनोटमा ठूलो हौसला दिनेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.