काठमाडौं । इङ्लिस प्रिमियर लिगमा खराब लयबाट गुज्रिरहेको म्यानचेस्ट युनाइटेड ब्रेन्टफोर्डसँग ३-१ गोलअन्तरले स्तब्ध भएको छ । घरेलु मैदान जिटेक कम्युनिटी मैदानमा ब्रेन्टफोर्डले आक्रमण र रक्षा दुवै पक्षमा उत्कृष्ट खेल प्रस्तुत् गर्दै समर्थकलाई खुसी पारेको हो ।
ब्रेन्टफोर्डका इगोर थिएगोले ८औं मिनेटमै गोल गर्दै टोलीलाई अग्रता दिलाए । सुरुवाती अग्रताले ब्रेन्टफोर्डको आत्मविश्वास बढाएको थियो र लगातार दबाब कायम राख्न सफल भयो । २० औं मिनेटमा थिएगोले व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । दुई गोलले पछि परेको युनाइटेडका लागि २६ औं मिनेटमा बेन्जामिन सेस्कोले आकर्षक फिनिसिङमार्फत् गोल गर्दै खेलमा फर्काउने प्रयास गरे ।
तर युनाइटेडलाई खेलको दोस्रो हाफमा गम्भीर झट्का लाग्यो । ब्रेन्टफोर्डका नथन कोलिन्सले आक्रमणमा रहेका एमबेमूलाई अवरुद्ध गर्दा युनाइटेडले पेनाल्टीको अवसर पाएको थियो । तर कप्तान ब्रुनो फर्नान्डेसले हानेको पेनाल्टी ब्रेन्टफोर्डका गोलकिपर केलाहेरले बचाउादै युनाइटेडलाई खेल बराबरी गर्नबाट रोके ।
खेलको अतिरिक्त समयमा माथियास जेनसेनले आकर्षक दूरीबाट गोल गर्दै घरेलु टोलीको जित सुनिश्चित गरे । यससँगै ब्रेन्टफोर्डले ६ खेलमा २ जितसहित ७ अंक जोडेको छ । ऊ लिगमा ११ औं स्थानमा उक्लिएको छ । समान अंक रहे पनि युनाइटेड १३ औं स्थानमा छ । कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण भइरहेको प्रिमियर लिगमा आज राति थप ६ खेल हुँदै छन् ।